दार्चुला – डोटेली भाषाको सशक्त प्रतिनिधित्व गर्ने चलचित्र ‘डबल ण’ हालै युट्युबमार्फत सार्वजनिक भएको छ । निरन्तर मिडियाको आधिकारिक च्यानलबाट सार्वजनिक भएको यो चलचित्रले छोटो समयमा नै दर्शकको ध्यान तान्न सफल भएको छ ।
चलचित्रको निर्देशन भानुभक्त जोशीले गरेका हुन्, भने कथावस्तु सौगात ओझाको लेखनमा आधारित छ । पटकथा लेखनमा समेत भानुभक्त जोशी र सौगात ओझाको सहभागिता रहेको छ, जसले कथालाई गहिरो संवेदना र सामाजिक यथार्थमा बाँध्न सफल भएका छन् ।
अमित विकको सिनेमाटोग्राफीले दृश्यलाई जीवन्त बनाएको छ भने ललितसिंह साउँदको सम्पादनले चलचित्रलाई आकर्षक र सशक्त बनाएको छ । कलाकारहरुको अभिनय पक्षलाई हेर्दा, भानुभक्त जोशी, पदमभाष्कर जोशी, सौगात ओझा, जुना पाण्डे, ज्योती धामी, भोजराज जोशी, सुरेन्द्र संगम र प्रकाश विष्टजस्ता कलाकारको दमदार प्रस्तुतिले चलचित्रलाई भावनात्मक गहिराइ दिएको छ ।
त्यसैगरी राकेश भट्ट, मदन भण्डारी, नरेश जोशी, स्टार कठायत, माया महरा, सागर उपाध्याय, मान्वी जोशी र एके सिंह धामीको सहज र प्रभावशाली अभिनयले कथालाई अझै सशक्त बनाएको छ ।
चलचित्रमा समावेश गीतहरूमा भानुभक्त जोशीको शब्द र लय रहेका छन् भने स्वर भुवन प्रकाश बडू र सौगात ओझाले दिएका छन्, जसले दृश्यहरूमा संगीतको आत्मा भरिदिएको अनुभूति हुन्छ ।
हिमाल डेन्टल हस्पिटलको निर्माणमा बनेको चलचित्रमा सह–निर्माताको रुपमा भोजराज जोशी, भानुभक्त जोशी, गणेश विष्ट र जनक महराको पनि महत्वपूर्ण योगदान रहेको छ ।
‘डबल ण’ डोटेली भाषा, संस्कृति र जीवनशैलीलाई पर्दामा उतार्ने एक प्रयासमात्र होइन, सन्देशमूलक कथावस्तुले भरिएको सशक्त कलात्मक अभिव्यक्तिको उदाहरण पनि हो ।
