दार्चुला: देशको मौसम प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टाको तथ्याङ्कअनुसार उदयपुरको कटारीमा १८.८ मिलिमिटर वर्षा मापन गरिएको छ। मोरङको हैरैँचा र लेटाङ दुबै स्थानमा ९.८ मिलिमिटर तथा विराटनगरमा २.६ मिलिमिटर वर्षा भएको छ।
मंगलबार देशभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको उल्लेख छ।
मौसमको यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार प्रि–मनसुन याममा समेत सरदरभन्दा बढी वर्षा भइसकेको छ। फागुन १७ देखि वैशाख २२ सम्मको अवधिमा ११८.६ मिलिमिटर वर्षा भएको छ, जुन सामान्यभन्दा ५१.८ प्रतिशत बढी हो।
यस वर्षको मनसुन सुरु हुन अझै एक महिना बाँकी भए पनि हालैका पूर्वानुमान अनुसार मनसुन याममा पनि सरदरभन्दा बढी वर्षा हुने देखिएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशमा उल्लेख्य वर्षाको सम्भावना रहेको मौसमविदले बताउनुभएको छ।
