दार्चुला, वैशाख २४ – भारत र पाकिस्तानबीचको सैन्य तनावले चुलिँदो रूप लिँदै मिसाइल आक्रमणमा परिणत भएको छ। भारतले ‘अप्रेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान तथा पाकिस्तान-नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल आक्रमण गरेको जनाएको छ। उक्त कारबाहीमा एक बालकसहित कम्तीमा ८ जना नागरिकको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएको बताइएको छ।
भारतले हालै कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि त्यसको प्रतिशोधस्वरूप यो सैन्य अभियान सञ्चालन गरेको हो।
यता, पाकिस्तानले भारतको आक्रमणलाई युद्ध घोषणा सरहको कार्य भन्दै दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ। सीमावर्ती क्षेत्रमा निरन्तर गोलीबारी भइरहेको छ, जसमा दुवै देशका सर्वसाधारण र सुरक्षाकर्मीहरू घाइते भएका छन्।
युद्धको आशंकाबीच अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ। तर हालसम्म स्थिति थप संवेदनशील बन्दै गएको देखिन्छ।
