काठमाडौँ – भारतले गए राति पाकिस्तान अधिकृत कश्मीर र अन्य क्षेत्रमा हवाई आक्रमण गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्ने निर्णय लिएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाहीको पूर्ण अधिकार दिएको द गार्जियन न्युजले रोयटर्सलाई उद्धृत गर्दै जनाएको छ। भारतको आक्रमणलाई पछिल्लो दशकमा भएको सबैभन्दा ठुलो सैन्य टकरावको रूपमा चित्रण गरिएको छ।

भारतले कश्मीरको आतङ्कवादी गतिविधिमा संलग्न रहेका जैश–ए–मोहम्मद र लस्कर–ए–तोइबा जस्ता समूहको संरचना रहेको नौ स्थानमा लक्षित हमला गरेको दाबी गरेको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले यस कारबाहीलाई ‘आतंकवादविरुद्धको निर्णायक कदम’ भनेका छन्।

पाकिस्तानी सेनाले आक्रमणमा कम्तीमा २६ सर्वसाधारणको ज्यान गएको र ४६ जना घाइते भएको जनाएको छ। यता, पाकिस्तानले जवाफी कारबाहीका क्रममा भारतका पाँच लडाकु विमान खसालेको दाबी गरे पनि भारतीय रक्षा मन्त्रालयले यसबारे पुष्टि गरिसकेको छैन।

पाकिस्तानको प्रतिकारमा पनि सात जना सर्वसाधारणको मृत्यु भएको र ३० जना घाइते भएको जनाइएको छ।

भारतको हवाई आक्रमण कश्मीरमा आतंकवादीहरूले २६ जना पर्यटकको हत्या गरेको घटनाको केही हप्तापछि भएको हो। पछिल्लो घटनाक्रमसँगै दक्षिण एसियामा परमाणु शक्ति सम्पन्न दुई छिमेकी राष्ट्र बिचको तनाव फेरि चुलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय