हुम्ला – हुम्ला जिल्लाको सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि स्थानीय उद्योगधन्दा, व्यवसाय र दैनिक उपभोग्य सेवामा गम्भीर असर परेको छ।

 

हिल्दुम विद्युत् वितरण केन्द्रले पर्याप्त विद्युत् उत्पादन गर्न नसक्दा र माग अत्यधिक बढ्दा लोडसेडिङ समय बढाइएको हो। केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार, उत्पादन क्षमता पाँच सय किलोवाट भए पनि हाल जम्मा डेढ सय किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ। व्यापारी मुकुन्द रोकायाले लोडसेडिङले आफ्नो कुटानीपिसानी मिल संचालनमा समस्या भएको बताउँदै भने, “२० केजी जौ पिस्न एक दिन पालो कुर्नुपर्ने अवस्था छ, उद्योग चलाउनै मुस्किल भएको छ।”लोडसेडिङका कारण छापाखाना, फर्निचर उद्योग, इलोक्ट्रोनिक्स पसल र वित्तीय संस्थाहरू समेत प्रभावित भएका छन्। धेरै कार्यालयहरूले सोलार जडान गर्न थालेका छन्।

 

राष्ट्रिय प्रसारण लाइनमा हुम्ला हालसम्म नजोडिएकाले जिल्लाको विद्युत् आपूर्ति पूर्ण रूपमा स्थानीय उत्पादनमा भर पर्नु परेको छ। सिमकोटमा पिक समयमा ७ सय किलोवाट माग भए पनि राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र विद्युत् सेवा नियमित रहने गरेको जनाइएको छ। लोडसेडिङको स्थायी समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय