
दार्चुला — सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ। ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा पुग्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले जिल्ला प्रशासनको पहलमा हुलाक डेस्क सञ्चालनमा ल्याइएको हो।
जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त प्रमुख विरेन्द्रसिंह धामीका अनुसार सरकारी कामकाजका क्रममा आवश्यक पर्ने हुलाक टिकट सजिलै उपलब्ध गराउने तथा गर्मी मौसममा आवतजावत गर्नुपर्ने बाध्यता हटाउने हेतुले यो डेस्क स्थापना गरिएको हो। कार्यालयकै एउटा छुट्टै कोठामा हुलाक डेस्क सञ्चालनमा ल्याइएको छ।
जेठ १ गतेदेखि सञ्चालनमा आएको उक्त डेस्कबाट सेवाग्राहीहरूले पाँच, दस, पन्ध्र र बीस रुपैयाँ मूल्यका हुलाक टिकट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले सरकारी प्रक्रिया छरितो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हाल दार्चुलाका नौ स्थानीय तहमध्ये आठ वटामा पालिका हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको जानकारी निमित्त प्रमुख धामीले दिनुभयो। उनका अनुसार जिल्लामा वार्षिक सातदेखि आठ लाख रुपैयाँ बराबरको हुलाक टिकट बिक्री हुने गरेको छ।