दार्चुला– दार्चुलाका कृषक महिलाहरूलाई प्राङ्गारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ। राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र, महाकाली नगरपालिका–८ काँकडाको संयुक्त आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।

सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रमा आवद्ध महिला कृषकहरू आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय रहेका छन्। शनिवार आयोजित तालिममा राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष डा. गङ्गालक्ष्मी अवाल र कार्यक्रम संयोजक उर्मिला अवालको विशेष उपस्थितिमा तालिम सम्पन्न भएको हो।

दार्चुला शाखा संयोजक तारा देवलका अनुसार तालिमको उद्देश्य कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षामा टेवा पुर्‍याउनु, साथै प्राङ्गारिक कृषि प्रणाली अपनाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै स्वच्छ उत्पादन, वातावरण र समाज निर्माण गर्नु रहेको छ।

तालिममा ४० जना महिला कृषक सहभागी थिए। सहभागीहरूलाई उनीहरूकै खेतबारीमा माटो परिक्षण, प्राङ्गारिक खेती सम्बन्धी जानकारी तथा अभ्यास गराइएको थियो। तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत शिशिर आचार्य, राष्ट्रिय महिला किसान महासंघकी कार्यक्रम संयोजक उर्मिला अवाल र कृषि प्राविधिक पार्वती कार्कीले गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्की, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कृषि अधिकृत, महिला कृषक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय