दार्चुला, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशको विकट तथा हिमाली जिल्ला दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई अब नगद जरिवाना तिर्नुपर्ने झन्झट हटेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस)’ लागू गरेसँगै ट्राफिक जरिवाना अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब निरीक्षक योगेशबहादुर पालका अनुसार, बिहीबारदेखि नयाँ प्रणाली औपचारिक रूपमा लागू गरिएको हो। अब ट्राफिक प्रहरीले फिल्डमै नियम उल्लङ्घन गर्ने चालकलाई चिट काट्नेछ र जरिवाना अनलाइनमार्फत तिर्न मिल्नेछ।

“अब नगद लिने प्रक्रिया बन्द भएको छ। चालकले अनलाइन भुक्तानीमार्फत जरिवाना तिर्ने व्यवस्था सुरु भएको छ,” पालले बताए।

नयाँ प्रणाली लागू भएको पहिलो दिनमै १० जना चालकलाई कारबाही गरिएको र उनीहरूले जरिवाना अनलाइनमार्फत तिरेको जानकारी दिँदै पालले, यस प्रणालीले भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, अनलाइन प्रणालीमार्फत भुक्तानी गर्दा समयको पनि बचत हुने भएकाले चालकहरूलाई सहजता हुने उनको भनाइ छ।

यससँगै अब सवारी चालकले ट्राफिक कार्यालय धाइरहनुपर्ने बाध्यता पनि अन्त्य भएको छ। साथै, ट्राफिक चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउनुपर्ने अवस्थाको साटोमा ‘नागरिक एप’ मा देखिने भर्चुअल लाइसेन्स देखाए मात्र पनि पर्याप्त हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय