धनगढी–विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश र नेपाल ज्योतिष परिषद्, जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न भएको छ।
कार्यक्रम २०७९ जेठ ५ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको थियो। ६४ जनाको सक्रिय सहभागिता रहेको प्रशिक्षणमा धार्मिक कर्मकाण्ड सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गरिएको थियो।
समापन समारोहको अध्यक्षता विश्व हिन्दू परिषद् सुदूरपश्चिम प्रदेश अध्यक्ष श्री महेन्द्र राज पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लक्ष्मी नारायण मन्दिरका पीठाधीश्वर श्री १००८ स्वामी देवराज आचार्य रहनुभएको थियो।
समारोहमा मुख्य प्रशिक्षक नेपाल ज्योतिष परिषद् कैलाली अध्यक्ष श्री खगेन्द्र राज अवस्थीले आफ्नो ज्ञान धेरै सहभागीहरूलाई बाँड्न पाएकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले हिन्दू संस्कार र परम्पराको जगेर्नामा मद्दत पुग्ने बताउनुभयो।
सो अवसरमा पतञ्जलि योग समिति सुदूरपश्चिमका प्रभारी श्री काशीनाथ भट्ट, गीता सत्सङ्ग समिति उपाध्यक्ष श्री सिताराम अवस्थी, तथा प्रशिक्षणका सहभागी पदमराज तिमिल्सिना, शिवराम राना, र प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका अध्यक्षज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन विश्व हिन्दू परिषद् धनगढी नगर समिति सचिव श्री सिद्धराज पनेरुले गर्नुभएको थियो।
कार्यक्रममार्फत नवपुजारीहरू तयार पार्ने उद्देश्य राखिएको बताइएको छ। आयोजकहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिएका छन्।
