म एउटा कथा भोग्छु। त्यसलाई लेख्छु पनि। तर कहिले–कहिले सोध्न मन लाग्छ ? के जसले भोग्यो, उसैले लेख्यो त? र जसले लेख्यो, उसैले बुझ्यो त?

जीवनमा पीडा आयो कसैले धोका दियो, कसैले बिर्सियो। म रोएँ, भत्किएँ, फेरि उभिएँ। त्यो अनुभूति यति तीव्र थियो, जसले भित्र कतै ममता र आक्रोश एकैसाथ जगायो।
पछि म त्यो अनुभव लेख्न बसेँ शब्दहरू आए “दुःख“, “असह्य“, “भित्रको चिच्याहट“… तर ती शब्दले त्यो पीडालाई पूरा चित्रण गर्न सके त?

सायद, भोग्ने म केही अर्कै थिएँ र लेख्ने म, केही शान्त, केही समीक्षक जस्तो। भोग्ने मले आँसु बगाएको थियो, तर लेख्ने मले शब्दहरू सम्हालेर राखेको थियो। र त्यो लेख पढेपछि, अर्को म जन्मियो— बुझ्ने म।
जसले भोगेको र लेखेको म दुबैलाई टाढाबाट हेरेको थियो। बुझ्ने म भन्छ “त्यो पीडा आवश्यक थियो, त्यसले नै तिमीलाई यो महसुस गरायो कि तिमी अझै जीवित छौ।“ बुझ्ने म कहिलेकाहीँ मौन छ। ऊ कुनै टिप्पणी गर्दैन, ऊ केवल साक्षी हुन्छ। जब लेख लेखिँदै छ, ऊ भित्र कतै मुस्कुराइरहेको हुन्छ “यत्रो वर्षपछि बल्ल तिमीले बुझ्यौ… त्यो घाउ उपहार थियो।

“कति अद्भुत सम्बन्ध! भोग्ने म तत्काल प्रतिक्रिया दिन्छ। लेख्ने म त्यो प्रतिक्रियालाई कथा बनाउँछ। र बुझ्ने म त्यो कथाभित्रको सत्य छुटाउँछ। पत्रकारको रूपमा, म अरूका भोगाइ लेख्छु। तर साँचो लेख त्यति बेला जन्मिन्छ, जब म आफूभित्रको पनि कथा लेख्न सक्ने हुन्छु। जसरी समाचारको एउटा शीर्षक भनेझैँ देखिन्छ— “आमा रोइन्, छोराको लास उठाउँदा…“त्यो पढेर पनि म लेख्दै गर्छु। तर त्यही वाक्यले भित्र कतै भोग्ने मलाई स्पर्श गर्छ, र बुझ्ने म शान्त रहन्छ किनभने ऊ बुझ्छः “यी सबै मानवीय अनुभूतिका पाटाहरू हुन्, जसको मूल स्रोत एउटै चेतना हो।

“आज म एक पटक फेरि लेखिरहेछु। तर अब थाहा छ लेख्ने म केवल हस्ताक्षर गर्ने हो। भोग्ने म त्यो अनुभवको अमिलोपन हो। र बुझ्ने म  शून्यतामै बसेर, यी दुवैको लीलालाई हेर्ने साक्षी। सायद यिनै तीन म हरूबिचको अन्तरक्रियाले मेरो अस्तित्वको अर्थ दिन्छ। र यही अर्थमा, म ’लेखक’ मात्र होइन, भोग्ने चेतना र बुझ्ने मौनता पनि हुँ।

शान्ती प्रसाद जोशी (मुस्कान) धनगढी कैलाली 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय