दिपक खाती, दार्चुला । एक समय थियो एक जमाना थियो एक युग थियो हाम्रा पुर्खाले बाचेको । गाउँघरमा जादा बुढापाखा संग कुराकानी गर्दा सुनाउछन् आफ्नो जिन्दगीको कठिनाइ र संघर्ष । नुन बोकेर बैतडी देखी चिनको ताङ्लाकोट सम्म व्यापार गरेको,पहाड,चट्टान,खोला नदि,जंगली जनावर कसैको प्रवाह नगरी ओढारमा सुतेको ।

टाटा देखि भावर सम्म भेडाबाख्रा चराएको,क्विन्टलको भारी पिठ्युँमा बोकेर भिरको बाटो हिड्दै छाङरु,तिंकर गएको । डाडापारी ढल्कनै लागेको साझको घाम जस्तै बनेका हाम्रा पुर्खाहरु अहिले आफ्नै आखले गाउँमा गाडी पुगेको देख्दा हर्षित र अचम्मित छन् । यातायातको अभावमा आफुले भोग्नुपरेको दुख अब आफ्नो सन्तानले भोग्नुपर्दैन भनेर खुशी र हर्षित छन् साथै यात्रा पहाड चट्टान फुटाएर कमिलासम्म हिड्न नसक्ने ठाउँमा गाडी ट्याक्टर गुड्ने सडक बनाएकोमा कसरी बनाउन सक्यो होला हामीले त यो जुनिमा गाउँमा गाडी पुगेको देख्दैनौ सोचेका थियौ तर जे होस् गाडी पुग्यो भनेर अचम्मित पनि भएका छन् ।
भारी बोकेर माल(मधेस),भारतको टनकपुर गएका बेला कहिलेकाहीँ मोटर देखेका र चड्ने अवशर पाएका हाम्रा पुर्खाहरुले पिठ्युँमा क्विन्टलको भारी बोकेर निधार पसिनाले भिजाउदै राताकाठाको घुम्ती उक्लिदा,तङ्ले भिर पार गरेर कोरकट्या धारको बिसौनीमा बस्दा सोचे होलान् –

भाग्य चेलो मधेस जनम्यो गाडी हुईकौन्या हो

अभगी चेलो पहाड जनम्यो भारी चुईकौन्या हो ।

विकट भूगोलमा जन्मिएर दुख कष्टको जीवन बाच्नु भारी बोक्नु आफ्नो भाग्यको दोष सम्झने पुस्तालाई आफ्नो गाउँमा गाडी पुगेको देख्दा ठुलो उपलब्धि र खुशी महसुस हुनु स्वभाविक हो साथै वर्तमान प्रविधिको युगमा प्रविधि संगै हुर्केका युवाहरूलाई विश्वले विकासका नयाँ मानक स्थापित गरिरहेका बेला अहिले आएर गाउँमा गाडी पुग्नु,गोरेटो बाटो बन्नु त्यसमा पनि फलानोको पहलमा गाडी पुग्यो बाटो बन्यो भन्दा हामी अझै कति पुछारमा छौं भन्ने महसुस हुनु पनि स्वभाविकनै हो ।

आ.ब २०६६/०६७ बाट सिमानाका जोड्ने उदेश्य सहित सुरु भएको रणनैतिक महत्त्वको दार्चुला-टिंकर सडक आयोजना १२२ किलोमीटर मध्ये चालू आ.ब सम्म ५५ किलोमीटर सडक मात्रै गाडी गुड्ने कच्ची सडक निर्माण हुनुले प्रष्ट संकेत गर्छ राज्यको यस सडक प्रतिको उदासीनता । सिमित बजेट,सिमित स्रोतसाधन(सडक निर्माणका लागी बिष्पोटक पर्दाथको अभाव) र प्रतिकुल भूगोल,विभिन्न प्राकृति प्रकोपको समस्याका बाबुजुद पनि खलंगा देखि तुसरपानी सम्मको गाडी गुड्ने सडक निर्माण गर्नुहुने नेपाल सरकार,दार्चुला-टिंकर सडक आयोजना कार्यालय,निर्माण व्यवसायी तथा जोखिममा काम गर्ने सम्पुर्ण श्रमिक दाजुभाइ,जिल्लाका राजनैतिक दल र नेतृत्व साथै सम्पुर्ण सरोकारवाला पक्षलाई धन्यवाद ।
दार्चुला-टिंकर सडकलाई द्रुतगतिमा निर्माण गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलि नेतृत्वको सरकारको २०७७/१/१४ मन्त्रीपरिषदको निर्णय अनुसार नेपाली सेनालाई ब्याँस २ कोठेधार देखि टिंकरसम्मको ७५ किलोमीटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिईयो तर सेनाले काम सुरु गर्नेठाउँ कोठेधारसम्म सडक पुगाउने जिम्मेवारी पाएको निर्माण व्यवसायीले समयमै काम नगर्दा सो निर्माण व्यवसायीको ठेक्का रद्द गरि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको २०७८/१०/१७ गतेको मन्त्रीपरिषदको निर्णयले तुसरपानी देखि कोठेधारसम्मको ४ किलोमीटर थप गरि तुसरपानी देखि टिंकरसम्मको ७९ किलोमीटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिईयो । कडा चट्टानी भूगोलमा सडक निर्माण गर्न आवश्यक स्रोतसाधन(बिष्पोटक पर्दाथ)भएको नेपाली सेनालाई जिम्मेवारी दिएपछि स्थानीयमा सडक निर्माणले तिब्रता पाउने निर्माणकार्य छिटो हुने आशा थियो तर सडक निर्माणको लागी नेपाली सेनालाई सरकारले न्यून बजेट उपलब्ध गराउदा बजेट अभावले सडक निर्माणले गति लिन सकिरहेको छैन ।

दार्चुला-टिंकर(तुसरपानी-कोठेधार-टिंकर) सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएपछि आ.ब २०७७/७८ मा ब्याँसको वडा नम्बर ४ सुन्सेरा,वडा नम्बर २ दुम्लिङ र थी मा सेनाको क्याम्प निर्माणको लागी सरकारले २२ करोड बजेट विनियोजन गरेको थियो त्यसपछि आ.ब २०७८/०७९ मा सडक निर्माणको लागी २० करोड ५० लाख बजेट पाएको नेपाली सेनाले ८.४ किलोमीटर सडकको ट्र्याक निर्माण गरेको र ३.९ किलोमीटर सडक स्तरोन्नति गरेको थियो । आ.ब २०७९/२०८० मा सडक निर्माणको लागी ९ करोड ५० लाख बजेट पाएको सेनाले सो बर्ष २ किलोमीटर सडकको नयाँ ट्र्याक निर्माण गरेको र १.५ किलोमीटर सडक स्तरोन्नति गरेको थियो । आ.ब २०८०/०८१ मा १४ करोड १९ लाख २० हजार बजेट प्राप्त गरेको नेपाली सेनाले सो बर्ष ३ किलोमीटर सडकको नयाँ ट्र्याक निर्माण र २ किलोमीटर सडक स्तरोन्नति गरेको थियो ।

आ.ब २०८१/०८२ मा १४ करोड बजेट प्राप्त गरेको सेनाले ब्याँस १ छाङरुमा हेलिकप्टरबाट डोजर ढुवानी गरेर छाङरुबाट समेत तल सडक निर्माणको कार्य सुरु गरी सो बर्ष ४.१ किलोमीटर सडकको नयाँ ट्र्याक निर्माण र १.२ किलोमीटर सडक स्तरोन्नति गरि गत आ.ब २०८१/०८२ सम्म नेपाली सेनाले ५८ करोड १९ लाख २० हजार बजेट खर्च गरि १७.५ किलोमीटर सडकको ट्र्याक निर्माण र ८.६ किलोमीटर सडक स्तरोन्नति गरेको नेपाली सेनाले जनाएको छ । सरकारले चालू आ.ब २०८२/०८३ मा टिंकर सडकमा ६ करोड ३१ लाख बजेट विनियोजन गरेपनि सडक निर्माणको लागी १ करोड मात्रै बजेट विनियोजन भएको थियो ।

बाकी बजेट छाङरुमा सेनाको क्याम्प निर्माण गर्न १ करोड ८० लाख रुपैयाँ र मेसिन तथा उपकरण खरिदका लागि २ करोड ५३ लाख रुपैयाँ राखिएको थियो । छाङरुमा क्याम्प निर्माणको लागी ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ र आगामी असार महिनाभित्र क्याम्प निर्माणकार्य सम्पन्न गर्नेगरि काम भैरहेको सेनाले जनाएको छ । चालु आ.ब मा सडक निर्माणको लागी छुट्याएको १ करोड बजेट गत बर्षको माघमै सकिएपछि बजेट अभावले निर्माणकार्य बन्द भएको थियो । बजेट नभएर सडक निर्माणको काम ठप्प भएको अवस्थामा
सेनाले चालू आ.ब मा प्राप्त ६ करोड ३० लाख बजेट मध्ये मेसिन तथा उपकरणका लागि छुट्याएको २ करोड ५३ लाख र क्याम्प निर्माणको ठेक्काबाट बचेको रकम गरी ४ करोड रुपैयाँ रकमान्तर गरी सडक निर्माण गर्न सम्बन्धित निकायमा प्रस्ताव पेश गरि अर्थमन्त्रालय बाट सो प्रस्ताव स्वीकृति भएपछि सेनाले ब्याँसको दुम्लिङमा गाडी पुगाउने लक्ष्य सहित सडकको कामलाई तिब्रता दियो र फलस्वरूप दुम्लिङमा गाडी पुगाउने सेनाको चाहनाले सार्थकता पायो ।

ब्याँसको वडा नम्बर २ दुम्लिङ पुग्यो गाडी ।

सरकारले दिएको जिम्मेवारी अनुसार ब्याँसको दुम्लिङ सम्म गाडी गुड्ने सडक निर्माण गर्नु नेपाली सेनाले कर्तव्य हो तर न्यून बजेट,भौगोलिक र मौसमको चुनौतीका बाबजुद आफ्नो जिम्मेवारी ईमानदारीपुर्व वहन गर्दै उपलब्ध स्रोतसाधनको सहि सदुपयोग गर्दै निर्माणकार्यमा खटिएका मातहतका नेपाली सेनाका सकलदर्जा,स्थानीय मजदुरको मनोबल,हौसला बढाउदै दार्चुला टिंकर सडक आयोजनाका आयोजना प्रमुख नेपाली सेनाका प्रमुख सेनानी राजेश कट्वालले सडक निर्माणकार्यलाई तीव्रता दिएर मात्रै यति छिटो दुम्लिङमा गाडी पुगेको हो भन्न कन्जुस्याइँ गर्नुहुन्न । दार्चुला टिंकर सडककै बिषयमा कहिलेकाही छलफल गर्नेक्रममा कर्णेल राजेश कट्वाल सर सित भएको भेटमा मैले देखे उहाँको आखामा सपना थियो बिस्तारै सपना काजमा कोरियो दृढ़ संकल्प अठोटले सपना साकार पार्दै दुम्लिङ सम्म गाडी पुग्यो । यद्यपि ब्याँसको लागि कर्णेल सापको कल्पना,सिर्जना र सपना बृहत छ । भविष्यमा ती सपनाले सार्थकता पाँउने छन् । आयोजना प्रमुखको सोच संकल्प सपनाले सार्थकता पाउनुमा सबैभन्दा महत्त्वपूर्ण योगदान छ जोखिमको प्रभाव नगरी सडक निर्माणमा खटिएर हिम्मत जुटाएर कडा चट्टान फुटाएर काम गर्नुहुने स्थानीय सम्पुर्ण योद्धाहरुको । सेनाले दिएको जिम्मेवारी कुशलतापुर्वक बहन गर्दै स्थानीय कामदारहरुलाई उचित ढंगले काममा लगाई सुरक्षित रूपमा काम संचालन गर्ने नाईके(साईड ईन्चार्ज) जनक धामी,लोकेन्द्र धामी,मोहनलाल धामी,स्काईभेटर चालक लगायत सम्पुर्ण कामदारहरुमा उच्च सम्मान सहित ब्याँस क्षेत्रका देविदेवताले सबैको रक्षा गरुन् भन्ने प्राथना समेत गर्दछु । नेपाली सेनाले निर्माणकार्य सुरु गरेको दार्चुला टिंकर (तुसरपानी कोठेधार टिंकर) सडकको शुन्य बिन्दु ब्याँस गा.पा वडा नम्बर ३ तुसरपानी देखी ब्याँस २ राङथल सम्म करिब ८ किलोमीटर सडक निर्माण भई पहिलेनै गाडी पुगेको थियो । अहिले राङथल देखि दुम्लिङको घट्ट सम्म करिब ४ किलोमीटर सडक गाडी गुड्ने बनाएर दुम्लिङसम्म गाडी पुगेको छ । तथापि दुम्लिङसम्म नियमितरूपमा गाडी संचालन हुने गरि सडकको स्तरोन्नति समेत भैरहेको छ । वर्षातको बेला बाढी पहिरोले सडक अबरुद्ध हुने सम्भावना भएपनि बर्षौदेखी सडकको पर्खाइमा बसेका दुम्लिङबासीको लागि यातायातको सुबिधा हुँदा जोखिमपूर्ण तुईनको यात्रा गर्नुपर्ने बाध्यता समेत न्यून हुनेछ । प्राकृतिक स्रोतसाधन,सुन्दरताले भरिपूर्ण रहेको ब्याँस २ दुम्लिङमा गाडी पुग्दा अवसर र सम्भावनाका ढोका खुलेका छन् । गाउँको उत्पादन लाई बजारीकरण गर्न,गाउँमै होटल पसल संचालन गर्न,गाडी ट्याक्टर जस्ता यातायातका साधन संचालन गरेर स्वरोजगार बन्ने बाटो खुलेका छन् । स्थानीय सरकारले जिल्ला प्रशासनका साथै अन्य सम्बन्धित निकाय संग समन्वय छलफल गरेर दुम्लिङसम्म नियमित गाडी संचालन गर्न यात्रु भाडादर कायम गर्ने,निश्चित समय साझ ७ बजेसम्म मात्रै गाडी चलाउने नियम बनाएर सुन्सेरा दुम्लिङ क्षेत्रमा ट्राफिक प्रहरी खटाउन सके नागरिकको लागि सहज हुन्छ । सेनालाई पर्याप्त बजेट नहुदा सडक निर्माणले गति लिन नसकेको कुरा सबैलाई जानकारी भएकै बिषय हो र सेनाले मागेबमोजिम बजेट उपलब्ध हुँदा कति छिटो सडकको काम हुन्छ भन्ने उदाहरण दुम्लिङ गाडी पुग्नले प्रष्ट पारेको छ । अब दार्चुलाका सम्पुर्ण राजनैतिक दल,सरोकारवाला सबैले सिमा क्षेत्र जोड्ने रणनीतिक सडक दार्चुला टिंकर सडकमा नेपाली सेनाले मागे बमोजिम बजेट विनियोजन गर्न आ-आफ्नोतर्फबाट पहल प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय