काठमाडौं, जेठ २४ — सुदूरपश्चिमको दार्चुला जिल्लास्थित अपिहिमाल गाउँपालिकाले पहिलोपटक अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (HTM) २०२५’ मा सहभागिता जनाएर ऐतिहासिक उपलब्धि हासिल गरेको छ। प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड (NTB) को संयुक्त आयोजनामा काठमाडौंको सोल्टी होटेलमा जेठ २० देखि २२ गतेसम्म सम्पन्न उक्त कार्यक्रममा करिब ३० देशका पर्यटन विज्ञ, व्यवसायी, सञ्चारकर्मी, र सरकारी अधिकारीहरूको सहभागिता थियो।
अपिहिमाल गाउँपालिका यस संस्करणमा सहभागी हुने एकमात्र गाउँपालिका बनेको छ। यस अवसरमा गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्थानीय संस्कृति, धार्मिक स्थल, पदमार्ग, हिमाल आरोहणका सम्भावना, र होमस्टे कार्यक्रमहरूको जानकारीसहित प्रचार–प्रसार गर्यो। कार्यक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले पर्यटक गन्तव्यको परिचयात्मक पुस्तिका तथा मार्गचित्र समेत प्रमुख पाहुनाहरूलाई हस्तान्तरण गरेका थिए।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सहभागितालाई सुदूरपश्चिमको समग्र पर्यटन प्रवर्द्धनका लागि प्रेरणादायी कदम भएको बताउँदै आगामी दिनमा यसले पर्यटक आगमन, पूर्वाधार विकास र दिगो अभ्यासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिनिधि क्षेत्रसिंह ठेकरेका अनुसार, अपिहिमालको सहभागीता सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले भएको हो। उनले अपिहिमाल क्षेत्रको पर्यटकीय सम्पदा, अपि हिमाल आधार शिविर, साहसिक पदमार्ग र जैविक विविधताले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताए।
HTM २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री प्रसाद पाण्डे, पूर्व बीबीसी प्रस्तोता शरनजित लेल, सगरमाथा आरोही तथा अभिनेत्री निशा अधिकारीलगायत अन्तर्राष्ट्रिय पर्यटन विज्ञहरूको उपस्थिति रहेको थियो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र PATA का महासचिव नरेन्द्र देव भट्टले ग्रामीण पर्यटनको प्रवर्द्धनमा यस्ता सहभागिताले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। अपिहिमालको उपस्थिति अन्य गाउँपालिकालाई पनि यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा प्रतिनिधित्व गर्न प्रेरणा बन्ने अपेक्षा गरिएको छ।
सामुदायिक सहभागिता, दिगो पर्यटन र सुदूरपश्चिमको समृद्ध भविष्यतर्फ अपिहिमाल गाउँपालिकाले लिएको यो कदम पर्यटन क्षेत्रमा नयाँ आशा र सम्भावना बोकेको छ।

