
धनगढी- राष्ट्रिय सङ्गीतकर्मी सङ्घ प्रवास भारतद्वारा पहिलो अधिवेशन तथा ठाडी भाका र नृत्य प्रतियोगिता यही जुन २२ तारिख भारतको ब्याङ्लोरस्थित शान्तिनगरमा आयोजना हुने भएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष तथा चर्चित गायक प्रकाश कटुवाल सहभागी हुने भएका छन्। त्यस्तै, सुदूरपश्चिम अध्यक्ष निल गगन रोशन सिंह र केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज ऐन दौल्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेको ठाडी भाका प्रतियोगितामा निर्णायकको भूमिकामा चर्चित देउडा गायक भुवन दाहाल, गायिका शोभा थापा, र गायक कटक नेपाली रहनेछन्। नृत्य प्रतियोगितामा भने नरेश कुमार एम, राज बिसी, र डान्सर सञ्जय जी निर्णायक रहनेछन्।
कार्यक्रमका संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष तथा कर्नाटक राज्य समिति, ब्याङ्लोर शाखा अध्यक्ष अबिनाश थापा काजी, तथा महासचिव समीर बोहराका अनुसार, प्रतियोगिता नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले आयोजना गरिएको हो। यो कार्यक्रम प्रवास भारतमा आयोजना हुन लागेको पहिलो राष्ट्रिय साङ्गीतिक प्रतियोगिता पनि हो।
प्रतियोगितामा १३ जना ठाडी भाका र १३ जना नृत्य प्रतियोगी सहभागी हुनेछन्। दुवै विधाका प्रतियोगीहरूलाई बराबर पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार रु ५,०००, द्वितीय पुरस्कार रु ३,०००। तृतीय पुरस्कार रु २,००० र सान्त्वना पुरस्कार रु १,००० रहेको बताएका छन् ।
कार्यक्रम सञ्चालनमा ध्वज धानुक, व्यवस्थापनमा सागर कुमार, नवराज विष्ट, सुरक्षा प्रमुख दान बि ओड, र सहयोगीको रूपमा महादेव भण्डारी रहने छन्।
सङ्घका अध्यक्ष थापा र महासचिव बोहराका अनुसार, “नयाँ पुस्तामा मौलिक लोकसंगीत र संस्कृतिप्रतिको आकर्षण बढाउन र प्रतिभाको सम्मान गर्न यो कार्यक्रम ऐतिहासिक बन्नेछ।”