
पिथौरागढ – कमलेश दानु हत्याकाण्डमा संलग्न अपराधीहरू अझै पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा पुल बन्द गरिने घोषणा गरिएको छ।
शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाबस्वरूप उक्त घोषणा गरेका हुन्।
ज्ञापनपत्र बुझाउनेमा उत्तराखण्ड सरकारका राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु, मनोज नागयाल, गोवर्धन दानु र देवेन्द्र सिंहलगायत रहेका थिए।
गत जुन ७ तारिख धारचुला बजारमा चक्कु प्रहार गरी कमलेश दानुको हत्या गरिएको थियो। घटनापछि पीडित परिवारले तीन जना व्यक्तिविरुद्ध एफआईआर दर्ता गराए पनि उनीहरू फरार रहेको भारतीय प्रशासनले जनाएको छ।
हत्याराहरू नेपाल छिरेको आशंका गरिएको छ भने खोजी कार्य नेपालसहित सबैतिरबाट भइरहेको प्रशासनको भनाइ छ।