
दार्चुला — जिल्ला अदालत दार्चुलाका न्यायाधीश पुष्पराज पाण्डेलाई न्यायपरिषद् तानिएको छ। खराब आचरणको आरोप लागेपछि उनलाई काजमा सर्वोच्च पठाइएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निर्देशनमा पाण्डेलाई तत्काल प्रभावबाट जिल्लाको जिम्मेवारीबाट हटाएर न्यायपरिषद् झिकाइएको न्याय परिषद् स्रोतले जनाएको छ।
न्यायपालिकाभित्रैबाट उठेका गुनासोहरूपछि पाण्डेप्रति शंका गहिरिँदै गएको र उनको आचरणप्रति प्रश्न उठेकाले कारबाही प्रक्रिया अघि बढाइएको स्रोतले जानकारी दिएको छ।
न्याय परिषद्को प्रारम्भिक अध्ययनमा उनको व्यवहार न्यायिक मर्यादाविपरीत देखिएपछि उच्च तहमा छलफल गरी तत्काल काजमा पठाउने निर्णय लिइएको हो।
स्रोतका अनुसार, अब न्यायपालिकाभित्र अनुशासन उल्लङ्घन गर्ने न्यायाधीशहरूलाई उन्मुक्ति नदिइने स्पष्ट सन्देशका रूपमा पाण्डेमाथिको कदम लिइएको हो।
पछिल्लो समय न्यायाधीशहरूको आचरण, व्यवहार र निर्णयप्रति उठेका आलोचनाबीच पाण्डेमाथिको प्रक्रिया एक ‘सिग्नल केस’का रूपमा लिइएको छ। न्यायपालिकाको मर्यादा र विश्वसनीयता जोगाउन अब यस्ता प्रकरणमा कडा निगरानी र कारबाही हुने उच्च स्रोतको भनाइ छ।