दार्चुला — दार्चुला जिल्लाका चार स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्ना नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। अपिहिमाल गाउँपालिका, लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकाले आ–आफ्ना प्राथमिकता, योजना र स्रोतसाधनअनुसार बजेट प्रस्तुत गरेका हुन्।

अपिहिमाल गाउँपालिकाले गाउँसभा अध्यक्ष भक्तसिंह ठेकरे बोहराको अध्यक्षतामा बसेको २०औँ अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरेपछि उपाध्यक्ष देवकीदेवी बोहरामार्फत ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। प्रस्तुत बजेटमा संघीय समानीकरण अनुदान ९ करोड ६ लाख, प्रदेश समानीकरण अनुदान ७२ लाख १८ हजार, संघीय सशर्त अनुदान १० करोड ८५ लाख, विशेष अनुदान ३ करोड ६५ लाख, प्रदेश राजस्व बाँडफाँट २२ लाख ९४ हजार, आन्तरिक स्रोत २३ लाख २८ हजार र अघिल्लो मौज्दात ६० लाख रुपैयाँ रहेको छ।

लेकम गाउँपालिकाले पनि १७औँ गाउँसभा अधिवेशनको दोस्रो बैठकबाट ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट पारित गरेको छ। अध्यक्ष रामदत्त जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष माधवी जोशीले बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा भौतिक, आर्थिक, सामाजिक र सेवा प्रवाहमा सुधार तथा संस्थागत विकासका क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीका अनुसार संघ, प्रदेश, आन्तरिक स्रोत तथा अघिल्लो मौज्दात रकमबाट समग्र बजेट तयार गरिएको हो।

शैल्यशिखर नगरपालिकाले नगर प्रमुख विजय सिंह धामीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेपछि नगर उप–प्रमुख शान्ती खडायतमार्फत ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेटअनुसार चालु खर्चका लागि ३९ करोड ६५ लाख ८७ हजार ९ सय ४ रुपैयाँ र पुँजीगत खर्चका लागि २२ करोड ६८ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघीय समानीकरण अनुदानबाट ८ करोड ३७ लाख, प्रदेश सरकारबाट ३ करोड ७५ लाख, राजस्व बाँडफाँट १ करोड ६८ लाख र सशर्त अनुदानसहित अन्य अनुदानमार्फत ७ करोड ६१ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

महाकाली नगरपालिकाले पनि मंगलबार नगर प्रमुख नरसिंह चैसिरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेपछि नगर उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्टमार्फत ६५ करोड ८१ लाख ५६ हजार ५ सय ३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु खर्चतर्फ ५५ करोड ७८ लाख ८८ हजार ५ सय ३७ रुपैयाँ र पुँजीगत खर्चतर्फ ८ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा संघीय समानीकरण अनुदान १२ करोड ९२ लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख ३७ हजार, राजस्व बाँडफाँटमार्फत २७ लाख ४९ हजार, सशर्त अनुदान ८ करोड ९६ लाख २ हजार ५ सय, आन्तरिक आम्दानी १ करोड १५ लाख, अघिल्लो वर्षको मौज्दात ३८ लाख र धरौटीमार्फत ९८ लाख ६८ हजार रुपैयाँ समावेश गरिएको छ।

चारै स्थानीय तहले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सेवा प्रवाह र समावेशी विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा व्यावहारिक र परिणाममुखी कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय