दार्चुला– राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय दार्चुलाको समन्वयमा महाकाली नगरपालिका–५ स्थित खेट्टेबगर सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यालयको नर्सरीबाट ल्याइएका बोट विरुवाहरु रोपिएको र हालसम्म जिल्लाभर २०,००० भन्दा बढी विरुवा वितरण भइसकेको जानकारी उहाँले दिनुभयो ।

यसै क्रममा डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्र दार्चुलाको समन्वयमा सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू र कृषि पेशामा संलग्न किसानलाई जडिबुटी र फलफूलका विरुवाहरू निशुल्क वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सिद्धराज उपाध्यायले हावापानी र माटो अनुकूल फलफूलका विरुवा किसानको घरदैलोमै पुर्याउने कार्य भइरहेको जानकारी दिनुभयो । किसानको मागअनुसार बाहिरी जिल्लाबाट आयात गरिएका अलैची, ड्रागन फ्रुट, चिया, कफी, सुन्तला, कागती, आप, लिची, अम्बा र एभोकाडोका विरुवा वितरण गरिएको हो ।

त्यस्तै, डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिलाई टिमुर, श्रीखण्ड, बेल, अगरुट, बोधीचित्त, रक्तचन्दन लगायतका जडिबुटिका विरुवा पनि वितरण गरेको छ । रेञ्जर राजेश पार्कीका अनुसार जिल्लाका २० वटा सामुदायिक वन उपभोक्ता समूहलाई आर्थिक उपार्जन र आत्मनिर्भरता बढाउने उद्देश्यले यो वितरण गरिएको हो । उहाँका अनुसार कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खरिद गरिएका विरुवा वितरण भइरहेका छन् । हाल दार्चुला जिल्लामा १८४ वटा सामुदायिक वनहरु क्रियाशील छन् ।
