दार्चुला– दार्चुलाको रोपाइँयोग्य भू–भागमा अहिले किसानहरू व्यस्त छन् । असार लागेसँगै जिल्लाभर रोपाइँको चटारो चलिरहेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार जिल्लामा किसानहरूले जेठको अन्तिम सातादेखि रोपाइँ सुरु गरेका हुन् ।
जिल्लाको चौलानी भेगबाट यस वर्षको रोपाइँ सुरु गरिएको जानकारी दिँदै उपाध्यायले जिल्लाको कुल २९ हजार ५४४ हेक्टर खेतीयोग्य जमिनमध्ये ४ हजार ४२२ हेक्टर जमिनमा धान खेती हुने गरेको बताए । तीमध्ये असार ८ गतेसम्म ७०० हेक्टर जमिनमा रोपाइँ भइसकेको छ, जुन कुल रोपाइँ क्षेत्रफलको १५ दशमलव ८३ प्रतिशत हो ।

उच्च हिमाली क्षेत्रबाहेक जिल्लाका अन्य अधिकांश भू–भागका किसानहरूले धान रोप्ने गर्छन् । यहाँ परम्परागत रूपमा उब्जाइने धान जातलाई ‘लोकल जात’ भनिन्छ भने आधुनिक रूपमा ‘सुख्खा–३’ नामक प्रजाति पनि खेती गरिन्छ ।
जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात ९ हजार ४९२ हेक्टर खेतीयोग्य क्षेत्रफल सिंचाईको पहुँचमा पुगेको छ । यस्तै, कुल २९ हजार ५४४ हेक्टरमध्ये २२ हजार ८२५ हेक्टर खेती हुने जमिनमा हाल सिंचाई सुविधा उपलब्ध भएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ, जुन कुल धान उत्पादनको २ दशमलव ८४ प्रतिशत हो ।
यस वर्षको ‘धान दिवस’ असार १५ गते महाकाली नगरपालिका–५, किम्तडीमा मनाइने कार्यक्रम रहेको जानकारी कार्यालय प्रमुख उपाध्यायले दिनुभयो ।

