चितवन, मंसिर १३ । नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारमध्ये भीम रावल सोमबार दिनभरजसो महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफूलाई मत दिन आग्रह गरिरहेका देखिए । तर अध्यक्ष पदका अर्का उम्मेदवार केपी शर्मा ओली भने उम्मेदवारी दर्तापछि महाधिवेशन स्थलमा देखिएका छैनन् ।
रावलले महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिसँग भेट गर्ने, संक्षिप्त वार्तालाप गर्ने र आफ्नो उम्मेदवारीका बारेमा प्रस्ट पार्दै मत माग्ने गरेको देखियो । कतिपय महाधिवेशन प्रतिनिधिले उनलाई उम्मेदवारी फिर्ता लिनसमेत सुझाव दिएका थिए । उनीहरूलाई रावलले जबजको मूल्य र मान्यताअनुसार आफूले उम्मेदवारी दिएको भन्दै महाधिवेशनमा हुने प्रतिस्पर्धालाई सबैले स्वाभाविक रूपमा लिनुपर्ने जवाफ दिए ।
अर्कोतिर ओली भने उम्मेदवारी दर्ता गरे लगत्तै महाधिवेशन आयोजना स्थलबाट बाहिरिएर आफू बस्दै आएको होटलमा पुगेका छन् । उनी दिनभर सोही होटलमा बसे । ओली निकट नेताहरूका अनुसार ओलीले रावलको उम्मेदवारीलाई त्यति चुनौतीपूर्ण मानेका छैनन् । त्यसैले पनि ओलीले महाधिवेशन स्थलमा दौडधुप गरिरहन आवश्यक नठानेका हुन् । यद्यपि, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका उम्मेदवार भने महाधिवेशन प्रतिनिधिसँग हात जोडेर भोट मागिरहेका छन् । रातोपाटी