दार्चुला । अपिहिमाल गाउँपालिकाका नागरिकलाई स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले आन्तरिक राजश्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिका, दार्चुलाबीच करदाता सेवा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतासँगै अब अपिहिमाल गाउँपालिकाका बासिन्दाले गाउँपालिकामै आन्तरिक राजश्व कार्यालय डडेल्धुराबाट प्राप्त हुने करदाता सेवाहरू लिन सक्ने भएका छन्। यसबाट करसम्बन्धी कामका लागि डडेल्धुरा लगायत अन्य स्थानमा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
गाउँपालिकामै करदाता सेवा उपलब्ध भएपछि करदाता दर्ता, करसम्बन्धी विवरण तथा आवश्यक प्रक्रियालगायत आन्तरिक राजश्व कार्यालयबाट उपलब्ध हुने सेवाहरू स्थानीयस्तरबाटै प्राप्त गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।
सम्झौताले अपिहिमालका नागरिकलाई करसम्बन्धी सेवा सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउनुका साथै समय र खर्चको बचत हुने विश्वास गरिएको छ।
गाउँपालिकाले स्थानीय नागरिक तथा व्यवसायीलाई गाउँपालिकामै उपलब्ध हुने करदाता सेवाको अधिकतम उपयोग गरी राज्यलाई तिर्नुपर्ने कर तथा राजश्वसम्बन्धी दायित्व समयमै पूरा गर्न अनुरोधसमेत गरेको छ।
