दार्चुला । दुहुँ गाउँपालिका–५, पासुमा ‘मनोरथ–विकास ठकुरी स्मृति वडा/खुल्ला भलिबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ।
श्री एक्सन स्टार युवा क्लब, दुहुँ गाउँपालिका–५ पासु, दार्चुलाको आयोजनामा पूर्व वडाध्यक्ष स्वर्गीय मनोरथ भट्ट तथा नेपाली सेनाका स्वर्गीय विकास ठाकुरीको पवित्र स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
क्लबका अनुसार प्रतियोगितामा जिल्लाकै सर्वाधिक धनराशिको पुरस्कार प्रदान गरिनेछ। पुरुषतर्फ प्रथम हुने टोलीले रु. १ लाख ६६ हजार ६ सय ६६, द्वितीयले रु. ७७ हजार ७ सय ७७ र तृतीयले रु. २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै महिलातर्फ प्रथम पुरस्कार रु. २२ हजार २ सय २२, द्वितीय रु. ८ हजार ८ सय ८८ र तृतीय रु. ४ हजार ४ सय ४४ रहेको आयोजकले जनाएको छ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेन्टर र उत्कृष्ट ब्लकरलाई समेत ट्रफी तथा मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा पुरुषतर्फ प्रवेश शुल्क रु. १० हजार ५०० र महिलातर्फ रु. २ हजार तोकिएको छ।
आयोजकका अनुसार २०८३ असोज २० गतेदेखि असोज २४ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सकिनेछ। खेल २०८३ असोज २५ गतेदेखि दुहुँ गाउँपालिका–४ स्थित ब्रह्म आ.वि. पासुको प्राङ्गणमा सञ्चालन हुनेछ।
प्रतियोगितासँगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। खेलाडीहरूले अनिवार्य रूपमा नाम दर्ता गर्नुपर्ने, खेलाडीले खेल पोशाक लगाउनुपर्ने तथा आफ्नो परिचय खुल्ने नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
आयोजक श्री एक्सन स्टार युवा क्लबले प्रतियोगितामा सहभागी हुन जिल्लाका विभिन्न स्थानका खेलाडी तथा खेलप्रेमीलाई आह्वान गरेको छ। क्लबमा हाल गाउँका शिक्षित बुद्धिजीवीहरु,युवा वृद्धहरुको कार्य समितिरहेको हुँदा शान्त,ब्यवस्थित,मर्यादित हुने हुने आयोजकले जनाएको छ ।
“खेलकुद हाम्रो पहिचान, समृद्धि हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले दुहुँमा खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र प्रतिभा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय