दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने धनबोरा ट्रस पुलको आज उद्घाटन गरिएको छ। गत वर्ष सुक्खा पहिरोका कारण भत्किएको पुल पुनर्निर्माण भएपछि स्थानीय नागरिक, सेवाग्राही तथा अपिहिमाल बेसक्याम्प ट्रेकिङमा जाने पर्यटकलाई आवागमनमा सहज हुने भएको छ।

पुल भत्किएपछि अपिहिमाल बेसक्याम्प ट्रेकिङ तथा वडा नम्बर १ र २ का नागरिकलाई आवतजावतमा समस्या भएको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले एक साताभित्रै अस्थायी काठे पुल निर्माण गरी आवागमन सञ्चालनमा ल्याएको थियो।

त्यसपछि गाउँपालिकाले पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आफ्नै स्रोतबाट ६ महिनाभित्रै नयाँ ट्रस पुल निर्माण सम्पन्न गरेको हो। वर्षायामको चुनौतीपूर्ण समयमा छोटो अवधिमै पुल निर्माण सम्पन्न हुनुलाई गाउँपालिकाको सक्रियता र स्थानीयस्तरको विकास प्रयासका रूपमा हेरिएको छ।

नयाँ पुल निर्माण भएसँगै अपिहिमाल बेसक्याम्पको ट्रेकिङ मार्गमा आवागमन सहज हुनुका साथै वडा नम्बर १, २ र ३ लगायतका क्षेत्रका नागरिकलाई दैनिक आवतजावत, सेवा प्राप्ति तथा अन्य कामकाजमा सुविधा पुग्ने अपेक्षा गरिएको छ।

पुल निर्माण कार्यमा अहोरात्र खटिने उपभोक्ता समितिका अध्यक्ष धनमिन ठेकरेलगायत सम्पूर्ण पदाधिकारी तथा कामदार, प्राविधिक सहयोग प्रदान गर्ने ग्रामीण विकास समाज दार्चुलाका प्राविधिक राजेन्द्रसिंह ठगुन्ना, गाउँपालिकाको योजना तथा प्राविधिक शाखाका कर्मचारी र निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।

स्थानीय पूर्वाधार निर्माणमा गाउँपालिकाले आफ्नै स्रोत परिचालन गरी छोटो समयमै पुल निर्माण सम्पन्न गर्नुले दुर्गम क्षेत्रको विकास र नागरिकको सहज आवागमनमा सकारात्मक योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय