दार्चुला, मंसिर १४ । महेन्द्र नमुना माध्यामिक विद्यालयको छात्रवासमा रहेका असहाय छात्रहरुलाई नेपाली सेनाले शैक्षिक र खेल सामग्री हस्तान्तरण गरेको छ । मंगलवार महाकाली नगरपालिकाको वडा नम्वर ५ मा रहेको छात्रवासमा पुगेर गुरु गोरख गुल्म दार्चुला र विकाश निर्माण कार्य दल २ नम्वर गण दार्चुलाले शैक्षिक सामग्री र खेल सामग्री हस्तान्तरण गरेको हो ।
विभिन्न कारणले वुवा, आमा दुवै र आमा वा वुवा मात्रै गुमाएका १५ जना असहाय छात्रहरुलाई शैक्षिक र खेल सामग्री हस्तान्तरण गरेको गुरु गोरख गुल्म दार्चुलाका प्रमुख सेनानी कृष्ण चन्द्र ठकुल्लाले जानकारी दिए । नेपाली सेनाको सामाजिक तथा जनहित कार्य अन्तरगत असहाय छात्रहरुलाई अध्ययन र खेलकुदको क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री र खेलकुदका सामग्री सहयोग गरेको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले बताए ।
साथै सेनाले महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै स्थित छात्रबासमा उनिहरु खेल्नका लागी ब्याडमिन्टन कोर्ट र टेबुल टेनिसबोर्ड निर्माण गरिदिएको छ । उक्त ब्याडमिन्टन कोर्ट र टेबुल टेनिसबोर्डको उद्घाघाटन महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशी र महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव बडू कश्यपले सयुक्त रुपमा गर्नु भएको थियो ।
असहाय छात्रहरुलाई अन्य निकायबाट पनि सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ नेपाली सेनाले शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको हो । नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले टेबुल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४÷१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरिएको गुल्मपति ठकुल्लाले जानकारी दिए ।
यस्तै गुल्मपति ठकुल्लाले व्यक्तीगत रुपमा १५ जना असहाय छात्रहरुलाई ट्याकसुट सहयोग प्रदान गर्नु भएको छ ।
यस्तै विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन ¥याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन र टेबुल टेनिस बोर्ड निर्माण गरेको गणपति रमेश गुरुङ्गले बताए ।
नेपाली सेनाले सामाजिक र जनहित कार्य अन्तरगत असहाय बालबालिका, बृद्ध बृद्धा, समस्यामा परेका नागरिकलाई समय–समयमा विभिन्न सहयोग गर्दै आइरहेको छ । महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले नेपाली सेनाले गरेको सहयोगको खुलेरै प्रशंसा गर्नु भएको छ । विद्यालयको तर्फवाट र ब्याक्तिगत तर्फवाट गुल्म र गण लाई विशेष धन्यवाद दिनुभएको छ ।