दार्चुला, मंसिर १६ । जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङ देखी छाङरु सम्मको ३० किलोमिटर घोरेटो बाटो निर्माणका लागी सम्झौता भएको ८ महिना सम्म पनि निर्माणको कामले खासै गति लिन सकेको छैन् । केन्द्र सरकारको ५ करोडमा टेण्डर भई घटाघटीमा ३ करोड ३२ लाखमा बाटो निर्माणका लागी पुष्पाञ्जली रिठगडे निर्माण सेवा दार्चुला संग गत वैशाखमा सम्झौता भएको थियो । ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिंकर गाउँ सम्म जान नेपालको भुमीमा बाटो नभए पछि केन्द्र सरकारले दुम्लिङ देखी छाङरु सम्म जोड्ने ३० किलोमिटर घोरेटो बाटो निर्माणका लागी ५ करोड रुपैया छुट्याएको थियो । २०७७ फागुनमा टेण्डर भई २०७८ वैशाखमा निर्माण कम्पनी संग घोरेटो बाटो निर्माणका लागी २ वर्षको सम्झौता भएको बुझिएको छ ।
खास गरी छाङरु र तिंकर गाउँमा बसोबास गर्दै आइरहेका ब्याँसी सौका समुदायका मानिसहरु ६ महिना खलंगा तथा ६ महिना छाङरु र तिंकरमा बसाइ सर्ने गर्दछन् । हिउदेयाम सुरु हुने वित्तिकै सौका समुदायका मानिसहरु लालाबाला सहित खलंगा भर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनिहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलंगा सम्म आउने उनिहरुलाई भारतिय सुरक्षाकर्मी विभिन्न बाहानामा ठाउँ ठाउँमा दुख दिने गरेको पाइन्छ । भारतिय सुरक्षाकर्मीले नेपालीहरुलाई आवत जावतमा दुख दिने गरेका सुचनाहरु आउन थालेपछि नेपाल सरकारले आफुनै भुमीबाट आवत जावत गर्न घोरेटो बाटो निर्माणका लागी बजेट विनियोजन गरेको थियो । सरकारले घोरेटो बाटो, झोलुङ्गे पुल र ट्रसपुल निर्माणका लागी बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो ।
यता निर्माण व्यवसायी मान बहादुर बमका अनुसार जिरो पोइन्ट देखी २÷३ किलोमिटर घोरेटो बाटो निर्माण गरेको तथा गत भदौमा आएका बाढी र पहिरोले सबै बगाएर लगेको छ । वर्षात सकिए संगै अब काम सुरु गर्ने तयारीमा रहेको उहाले बताउनुभयो । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको निर्माण व्यवसायी बमले बताउनुभयो । वर्षा तथा कोरोना संक्रमणका कारण भएको लकडाउनले काममा ढिलाई भएको उहाको भनाई छ । ब्याँस गाउँपालिका वडा नम्बर २ थी भन्ने ठाउँमा बसोबास गर्ने सौका समुदायका मानिसहरुलाई तल झार्न अहिले घोरेटो निर्माण कार्य भइरहेको बताइएको छ ।
३० किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलाहरुमा पुल निर्माण गर्नु पर्ने निर्माण व्यवसायीले बताएका छन् । पुलका लागी चितवनमा अर्डर भई पुल निर्माण भइसकेको तथा ल्याउन बाकी रहेको उहाले बताउनुभयो । घोरेटोबाट तिब्रगतिमा निर्माण गर्न बिस्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताउनुभयो । आवश्यक बिस्फोटक पदार्थ उपलब्ध गराइ दिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको बताइएको छ । घोरेटो बाटो निर्माण गर्नु पर्ने ठाउँहरुमा कडा चट्टानी भु–भाग रहेको भन्दै चट्टान तोड्न बिस्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायी बमले बताउनुभयो । नेपाली भुमीमा बाटो नहुँदा छाङरु र तिंकरका स्थानिय बाध्य भएर भारतको बाटो प्रयोग गर्दै आएका छन् । DFm