काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो। मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ।
दोस्रो चरणको निर्वाचनमा देउवालाई कठिन हुनसक्ने देखिएको छ । किनकि, उनले थप कुनै पक्षसँग गठबन्धन गर्न सक्ने सम्भावना कम छ। पहिलो चरणको मतपरिणाम हेर्दा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिन्छन्।
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।
कांग्रेसको विधानमा ‘सभापति निर्वाचित हुनको लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ’ भन्ने उल्लेख छ। पहिलो पटक कुनै पनि उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाकाबीच पुनः मतदान गरिने व्यवस्था विधानमा छ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।
तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अन्नपूर्ण टाइम्स