
दार्चुला, मंसिर २८ । भीमदत्त उत्कृष्ट कृषक पुरस्कारद्वारा दार्चुलाका ३ जना किसान पुरस्कृत भएका छन् । कृषि खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ का बबिन्द्र धामी बाख्रा फर्ममा उत्कृष्ट कार्य गरेको भन्दै लेकम गाउँपालिका वडा नम्बर ५ का सम्झना धमला (बोहरा) तथा पशुपालनमा उत्कृष्ट कार्य गरेको भन्दै महाकाली नगरपालिका वडा नम्बर ५ का नबराज जोशीलाई नगद पुरस्कार २५ हजार सहित प्रमाणपत्रले सम्मानित गरेको हो । दार्चुलाको भूमि व्यवस्था तथा कृषि ज्ञान केन्द्रमा मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरुष्कार’ द्वारा सम्मानित गरेको हो । प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक दार्चुलाका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनु भयो ।
पहिलो चरणमा जिल्लाका ३ जना किसानहरु पुरस्कृत भएको भन्दै यसपछि सुदुरपश्चिमका नौवटै जिल्लामा पुगेर उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको कृषि बिकाश निर्देशनालय दिपायल डोटीका कार्यालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए । प्रत्येक जिल्लाबाट ३ ÷३ जनागरी २७ जनालाई पुरस्कृत गरिने बताइएको छ ।
कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तको अध्यक्षतामा भएको कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडका प्रमुख आतिथि रहेका थिए ।