दार्चुला, पुष १ । बृहत खानेपानी योजनाको कामले जिल्ला सदरमुकाम खलंगामा निर्माण सम्पन्न भएका योजनाहरु भत्किदै गएका छन ।
सहरी खानेपानी आयोजना अन्तर्गत जिल्लामा अहिले बृहत खानेपानी योजनाको पाईप बिछ्याउने कार्य धमाधम भैरहेको छ । सोहि कार्यले महाकाली नगरपालिकाको वडा नम्वर ४ र ५ मा निर्माण कार्य सम्पन्न भएका योजनाहरु भत्किदै गैरहेका छन ।
लामो समय लगाएर केहि दिन अघि मात्रै महाकली नगरपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको नगरपालीकाको वडा नम्वर ४ बंगावगर क्षेत्रको पैदल पी.सी.सी बाटो आज पुर्ण रुपमा भत्काएर पाईप बिछ्याउनलाई तयारी गरेको छ ।
यो कार्यले बिकास, निर्माणका काममा सरकारी संयन्त्रकै बीचमा समन्वय नहुने उदाहरण प्रष्ट देखिएको छ ।
खानेपानीको पाइप बिछ्याउने कामको ठेक्का पाएको ठेकेदार कम्पनिका सीताराम माझीले मजदूर लगाएर धमाधम बाटो भत्काउन थालेपछि स्थानीयले बिरोध गरेका छन् ।
ठेकेदार माझीका अनुसार मुख्य र सहायक गरी ३४ किलोमिटर पाइपलाइन बिछ्याउने काम भइरहेको जानकारी दिए ।
१४–१५ किलोमिटर शाखा लाइनको काम सम्पन्न भइसकेको जानकारी दिदै बंगाबगरको बाटो अहिले मजदूरहरुले थाहाँ नपाएर भत्काएको भन्दै अब बाटो बनाएर अगाडी काम गर्ने बताए ।
यो घटनाले बांगाबगडका स्थानीय आक्रोशित छन् । एकातर्फ बिकासका काम निकै सुस्त हुने र अर्कोतर्फ सरकारी निकायहरु मध्ये कसैले बनाउने र कसैले भत्काउने गर्न थालेपछि उनीहरु आक्रोशित भएका हुन् ।