दार्चुला । अफ्रिकी मुलुकहरूमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि दार्चुलाका सिमानाकामा पनि प्रहरीले कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनले सीमा नाकामा नेपाल भित्रिने यात्रुहरूको पिसिआर रिपोट र दुवै मात्रा खोप लगाएको कार्ड लगायतका कागजपत्र अनिवार्य रुपमा हेर्न सुरक्षाकर्मीहरूलाई आदेश दिएपछि प्रहरीले यहाँका मुख्य मुख्यनाकाहरुमा कडाई गर्न थालेको छ ।
दार्चुला जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले यहाँको प्रमुख पुलघाट नाका भएर नेपाल भित्रिने यात्रुहरूको खोप कार्ड र पिसिआर परीक्षणको रिपोट अनिवार्य रुपमा हेर्न थालेको जानकारी दिनुभयो । उहाँले जोखिमलाई कम गर्न सावधानी अपनाइरहेको बताउनुभयो । यस्तै जिल्लाका अन्य नाकाहरु दत्तु जोलजिबी लाली तिग्रम लगायतका नाकामा पनि कडाई गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
दार्चुलासंग सीमा जोडिएको पुलघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको छ । भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ ।
कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ । भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ ।खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शुन्य रहेको छ । कोरोना कारण जिल्लामा हाल सम्म ३ जना महिला सहित ११ जनाको मृत्यु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs