
दार्चुला ः ब्याँस गाउँपालिका–२ मालघाट घट्नाको पारदर्शी रुपले छानविन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जर्नादन गौतमले बताउनु भएको छ । घट्नाबारे छानविन गर्न काठमाण्डौँबाट मंगलबार साझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरु संग घट्नाको विषयमा छलफल गरेको छ ।
छानविनका लागी आवश्यक सुचना तथा प्रमाण संकलन गर्न घट्ना स्थल जानु पुर्व मन्त्रालयको टोलीले जिल्ला स्थित पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरु संग छलफल गरेको हो । छलफलका क्रममा समितिका संयोजक गौतमले माल घट्नालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताउनु भएको छ । टोलीले यसअघि बुधबार विहान ब्याँस गाउँपालिका–२ माल घट्नाका तिन जना प्रत्यक्षदर्शीलाई घट्नाका बारेमा गहिरो रुपले सोधपुछ गरेको छ । उक्त घट्नाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घट्नाको वास्तविकता बारेमा सोधपुछ गरेको बुझिएको छ । प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घट्ना संग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी घट्नाको सत्यतथ्य बाहिर ल्याउने उहाले बताउनुभयो ।
‘जागिरको उत्तरार्धामा छौ कसैको डरत्रास छैन्, छानविनलाई निकै पारदर्शी र निष्पक्ष बनाउछौ संयोजक गौतमले भन्नुभयो ।’ अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरु छानविन समितिमा रहेको भन्दै उहाले घट्नाको सत्यतथ्य बाहिर आउनेमा विस्वास व्यक्त गर्नुभयो । छलफलका क्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण सिंह धामीले घट्नाको कारण भारतिय सिमा सुरक्षा बल एसएसबी भएको बताउनु भएको छ । प्रत्यक्षदर्शी र स्थानियको भनाईका आधारमा सबै जसो मिडियाहरुमा समाचार सम्प्रेषण भएको पनि उहाले बताउनुभयो ।
पत्रकार तथा मानव अधिकारकर्मी नरेन्द्र सिंह कार्कीले जनताले बोलेका कुरा मिडियामा लेखेको दावी गर्दै प्रशासनले समाचार प्रति निकालेको विज्ञप्तीको कुनै अर्थ नहुने बताउनुभयो । साथै उहाले प्रहरी प्रशासनले प्रत्यक्षदर्शीलाई अपराधी सरह राखेको भन्दै उनिहरुको मानव अधिकार र सुरक्षा प्रतिको जिम्मा सरकारले लिनु पर्ने बताउनुभयो । ब्याँस गाउँपालिका–२ का जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा उनि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । साउन १५ गते शुक्रबार विहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेट्टिका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।