
दार्चुला । महाकाली करिडोर ब्रहमदेव–झुलाघाट, दार्चुला टिंकर सडक योजना ले सम्झौता बमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने निर्माण कम्पनी माथी कारबाही थालेको छ । पटक–पटक म्याद थप गर्दा समेत काम गर्न नसक्ने अमर सुर्य जेभी निर्माण कम्पनी संगको ठेक्का तोडिएको कार्यालय प्रमुख आशुतोष कर्णले बताए । २०७० सालमा करिडोरको दार्चुला–टिंकर सडक अन्तरगत ब्याँस गाउँपालिकाको कोठेधार राप्ला, माल, घाटीबगर सम्मको ७ किलोमिटर सडकको ट्याक खोल्न उक्त निर्माण कम्पनी संग सम्झौता भएको कार्यालय प्रमुख कर्णले बताए ।
कुल ७ किलोमिटर सडकको ट्याक खोल्ने सम्झौता गरेको निर्माण कम्पनीको आठ वर्षमा ६ पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का तोडिएको उनले जानकारी दिए । सडक निर्माणमा ढिलाई गर्ने उक्त निर्माण कम्पनी संग भएको सम्झौता भंग गर्दै ठेक्का तोडिएको तथा कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको कार्यालय प्रमुख कर्णले बताए ।
उक्त निर्माण कम्पनीलाई २ वर्ष सम्म कालो सुचिमा राख्न सिफारिस गरिएको उहाको भनाई छ । अमर सुर्य जेभी निर्माण कम्पनीले सम्झौता गरेको आठ वर्षमा ७ किलोमिटर सडक मध्ये ३ किलोमिटर मात्रै ट्याक खोलेको थियो । बाकी रहेको ४ किलोमिटर सडकको निर्माण कार्य गर्न ६ पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि ठेक्का तोडेर कालो सुचिमा राख्न सिफारिस गरिएको बताइएको छ । यसैबिच चालु आर्थिक वर्ष २०७८÷७९ मा महाकाली करिडोर दार्चुला टिंकर सडक योजना अन्तरगत दार्चुला, बैतडी र डडेल्धुरामा सडक कालोपत्रे गर्न र नयाँ ट्याक खोल्न ३ अर्ब ९७ करोडको लागत इस्टमेट तयार गरी नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बहुवर्षिय सहमति पेस गरेको कार्यालय प्रमुख कर्णले बताए । करिडोर अन्तरगत दार्चुलाको सदरमुकामबाट ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा सम्मको ४३ किलोमिटर सडक कालोपत्रे गरिने तथा बाकी बैतडी र डडेल्धुरामा सडक निर्माण गरिने उनले जानकारी दिए ।