दार्चुलाः महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरमा रहेको अपिनाम्पा बचत तथा ऋण सहकारी संस्थाले ५ जना असल ऋणी तथा ६ जना बचतकर्तालाई सम्मान एवं पुस्कृत गरेको छ । सहकारी संस्थाले आफ्नो १२ औ वार्षिक साधारण सभा मार्फत उनिहरुलाई सम्मानित गरेको हो ।
२०६६ सालमा स्थापना भएको सहकारीले आज १२ औ वार्षिक साधारण सभा मनाएको छ । सहकारी संस्थाले संस्थाबाट ऋण लिएर आफ्नो उद्यम गरी आत्मनिर्भर भएका ५ जना असल ऋणीलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । सहकारीले धेरै जना ऋणीहरु मध्ये गोलाप्रथाबाट ५ जनालाई छनौट गरेर सम्मान तथा पुरुस्कृत गरेको संस्थाका अध्यक्ष शुक्लावती बुढाथोकीले जानकारी दिए ।
गोलाप्रथाबाट छनौट गरिएका नारादेवी डोबाल, पारवती कुवर, चन्द्र बहादुर बम, कलावती कुमारी, रोहना कार्कीलाई दोसल्ला ओडाएर सम्मान गरिएको उनले बताए । यस्तै सहकारी संस्थामा बचत गरी असल बचतकर्ता छनौट भएका थप ६ जनलाई पनि सम्मान एवं पुरुस्कृत गरिएको छ । असल बचतकर्ता सरोजना बुढाथोकी, आशिष तिंकरी, विशन ठगुन्ना, सनमबुट्टी बोहरा, कल्यान फर्सवान र नारा बडाललाई सम्मान एवं पुरुस्कृत गरिएको हो ।
सहकारी संस्थामा अहिले ८ सय ८७ जना महिला तथा १ हजार ४९ जना पुरुष गरी १ हजार ९ सय ३७ जना सेयर सदस्य रहेका छन् । सहकारीमा २ सय ८८ जना बालबालिकाले समेत पैसा बचत गर्दै आइरहेका छन् । सहकारीले व्यापार, कृषि, पशुपालन र वैदेशिक रोजगारीका क्षेत्रमा ऋण लगानी गर्दै आइरहेको जनाएको छ ।