
काठमाडौं, साउन २१ नेपाली कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पार्टीको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको भए अहिलेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको हुन्थ्यो । तर आजसम्म वडा अधिवेशन पनि भएको छैन ।
कांग्रेसले साउन १२ मा वडा अधिवेशन, साउन १६ मा गाउँ÷नगरपालिका अधिवेशन र साउन २० मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका जारी गरेको थियो । तर क्षेत्रीय अधिवेशन सक्ने भनेको सयमसम्म क्रियाशील सदस्यता नै टुंगिएको छैन ।
कांग्रेसमा वडा तहको अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन् । बारा र सप्तरीमा धेरै विवाद छ । सिन्धुपाल्चोक, रसुवा र धनुषामा पनि विवाद देखिएका छन् । तल्ला तहका अधिवेशन कार्यतालिका प्रभावित भए पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय महाधिवेशन भदौ १६ मै उद्घघाटन गर्ने दाबी गरिरहेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि महाधिवेशन सार्न नहुनेमा छन् । अब महाधिवेशन सारेमा संवैधानिक संकट आउने उनीहरू बताउँछन् । पौडेलले भदौ २३ पछि देउवालाई सभापति मानेर जान सकिने अवस्था नहुने चेतावनीसमेत दिइसकेका छन् । सभापति देउवाले थप गरेको संविधानअनुसार छ महिना भदौ २३ मा सकिँदैछ । नयाँ कार्यतालिका ल्याउन नेताहरूले जमर्को भने गरेका छैनन् । यसले महाधिवेशन सर्ने त होइन भन्ने आशंका नेता तथा कार्यकर्तामा देखिएको छ । बुधबार पनि शीर्ष नेताबीच क्रियाशी विवाद हल गर्ने कुराकानी भएको थियो । दुई÷तीन दिनमा क्रियाशील सदस्यताको विवाद हल गरेर केन्द्रीय समितिबाट नयाँ कार्यतालिका ल्याउने तयारी कांग्रेसको छ ।
अब भदौ पहिलो साता वडा अधिवेशन राखेर एक÷दुई दिन बिराएर अधिवेशनहरू गर्दै भदौ १६ देखि १९ मै महाधिवेशन गर्ने तयारीमा कांग्रेसका नेताहरू छन् । केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद छिट्टै निरूपण गरिने जानकारी दिए । क्रियाशीलमा देखिएका विवाद हल गरेपछि तल्ला तहका लागि अधिवेशनको नयाँ मिति तोकिने पनि उनको भनाइ छ । कांग्रेसले ८ लाख ५२ हजारलाई क्रियाशील सदस्य बनाएको छ । विवाद हल हुँदा र विदेशस्थित सम्पर्क समितिबाट क्रियाशीलको विवरण आउँदा यो संख्या बढेर ९ लाख कट्नेछ । करिब एक सय वटा वडामा कांग्रेस क्रियाशीलबारे विवाद छन् । साभार सेतोपाटी