दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा मंगलबार राति हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । जिल्लाका हिमाली क्षेत्रका केहि बिद्यालयहरुको पठनपाठन समेत पूर्ण रुपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विद्यालयहरु र गाउँ नै हिउँले ढाकीएपछि पठनपाठन कार्य बन्द रहेको हो ।
गाउँ बस्तिसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । चिसोले घर बाहिर निस्कन सक्ने अवस्था रहेको छैन । बालबालिका, युवायुवती देखि बृद्धबृद्धासम्म सबै आगोको साहारामा दिन विताईरहेका छन । हिमपात रोकिएर घाम परेपछि मात्रै जनजीवन सहज बन्दै जाने छ । बर्षा र हिमपातपछि किसानहरु भने खुसी भएका छन् । लामो समयपछि परेको बर्षा र हिमपातले अन्नबाली र तरकारी खेती फष्टाउने अपेक्षा गरिएको छ ।
बर्षा नहुदा खेतमा अन्नबाँली सुक्न थालेको भएको पनि बर्षा र हिमपात भएपछि कृषकहरुलाई राहत पुगेको छ । मानिसहरुको दैनिकी भने पूर्ण रुपमा प्रभावित भएको भएपनि किसानहरुलाई फाईदा भएको छ । अपिहिमालको सबै वडामा हिमपात भएको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १, २, ३, ५ र ६ मा हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, धारी, ब्रह्मदेबको उच्च उच्च डाडाहरुमा, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाका समेत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
व्यासको छाङरु र तिङ्करमा सबैभन्दा बढी हिमपात भएको प्रहरीले जनाएको छ । छाङरु र तिङ्करका बासिन्दा भने चिसो छल्न मंसिर अन्तिम साता बेँसी झरिसकेका छन् । तिङ्कर गाउँ मानवविहिन बनेको छ भने छाङरुमा समेत चौँकीदार र सुरक्षाकर्मीको मात्रै उपस्थिति रहेको छ ।