दार्चुला : विद्यालयको शिशु कक्षामा कार्यरत वालविकास शिक्षक र विद्यालय कर्मचारीलाई आउदो माघ १ गते देखी मासिक १५ हजारका दरले तलब उपलब्ध गराउने महाकाली नगरपालिकाको नवौं नगरसभाले निर्णय गरेको छ । शनिबार बसेकाे नवौं नगरसभामा नगर उपप्रमुख सुना बोहराले पेश गर्नु भएको वालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता बृद्धि बारेको प्रस्ताव बहुमतले पारित गर्दै उनिहरुलाई मासिक रु १५ हजारका दरले तलब उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता पदम महरले जानकारी दिनुभयो । उप प्रमुख बोहराले वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको पिडालाई महसुस गर्दै उक्त प्रस्ताव नगरसभामा पेश गर्नु भएको थियो ।
प्रस्ताव पारित भए संगै नगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यरत वालविकास शिक्षक तथा विद्यालय कर्मचारी गरी १ सय १२ जनाले माघ १ गते देखी मासिक रु १५ हजारका दरले तलब भत्ता प्राप्त गर्ने भएका छन् । यस्तै नगरसभाले नगरपालिकाको वडा नम्बर ४ र ५ को बजार क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको बृहत खानेपानी योजनाको लागत जन सहभागित वाफतको उपभोक्ताले तिर्नु पर्ने रकम रु १ करोड ५० लाख अनुदान दिने निर्णय गरेको उहाले बताउनुभयो । यो संगै हरेक नगरबासीले मिटर सहितको धारा निशुल्क प्राप्त गर्ने भएका छन् । dfm