दार्चुला: दार्चुला जिल्ला अदालत दार्चुलाले जिल्लाका विभिन्न स्थानीय तहको न्यायिक समितिका गतिविधि बारे अनुगमन गरिरहेको छ । जिल्लाको दुहुँ गाउँपालिकाको न्यायीक समिति र समितिका गतिविधिका विषयमा दार्चुलाका जिल्ला न्यायाधीश लगायत श्रेष्तेदारहरुले अनुगमन गरेका छन् । अनुगमनका लागि गाउँपालिकाको कार्यालय पुगेका न्यायाधिशको टोलीलाई गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक ईस्वरी जोशीले स्वागत गर्दैै गाउँपालिका न्यायिक समिति द्वारा गरिएका न्यायीक कार्य सम्पादनको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
अनुगमनका क्रममा जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले न्यायीक समितिले गरेका कार्यहरु राम्रो रहेको बताउनु भएको छ । अनुगमनले न्यायिक समितिबाट गरिने कार्यका लागि थप उर्जा प्राप्त भएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जोशीले बताउनुभयो । न्यायाधिश नेतृत्वको टोलीले न्याय निरुपणमा आईपरेका समस्या, समाधानमा आईपरेका कठिनाई लगायत विभिन्न पक्षमा अन्तरक्रिया गरेको गाउँपालिकाले जनाएको छ । अनुगमनका साथै ३ दिने न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण प्रशिक्षण गरिएको दार्चुला जिल्ला अदालतले जनाएको छ ।