दार्चुला । जिल्लाको महाकाली नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने जनाएको छ । चिसो बढेपछि नगरपालिकाले सोमबार एक सुचना सार्वजनिक गदैँ यहि पुष २५ गते देखि माघ ४ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने जनाएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख इश्वरी ठगुन्नाका अनुसार पुष २५ देखि माघ ४ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर माघ ४ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई जानकारी गराएको बताए ।
नगरपालिकाका कतिपय विद्यालयहरुमा अहिले दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त समय सम्म परीक्षा सक्न पनि नगरपालिकाले निर्देशन दिएको छ ।
आईतवार बसेको महाकाली नगरपालिका सामाजिक विकास समितिको बैठकले विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । हाल नगरपालिका भित्र ९ वटा संस्थागत विद्यालय तथा ४८ वटा सामुदायिक विद्यालयगरी ५७ वटा विद्यालय रहेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । चिसोका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या निम्त्याउने हुँदा बन्द गरिन लागेको हो ।