
दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौँ जिल्ला अधिवेशन आउन अब तीन दिन मात्रै बाँकी रहेपनि नेतृत्वका आकांक्षीहरु सतहमा भने देखिएका छैनन् ।
नेकपा एमालेले जिल्ला नेतृत्वको टुंगो सर्वसम्मत् ढंगले नै टुंग्याउने योजना रहेकाले पनि आकांक्षीहरु सतहमा नदेखिएको अनुमान गरिएको छ । एमाले प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जिल्ला नेतृत्व सर्वसम्मत् रुपमै टुंगो लगाइने दाबी गर्नुभयो । नेतृत्वका लागि आकांक्षीहरु देखिनु लोकतान्त्रिक पद्धत्ति भएपनि सर्वसम्मत् रुपमै टुंगो लगाउने उहाँको भनाई छ ।
आकांक्षीहरु सार्वजनिक रुपमै नखुलेपनि आकांक्षीहरु भने तयार बनेको देखिन्छ । जिल्ला नेतृत्वको आकांक्षीहरुले आन्तरिक छलफल तथा नेताहरुबाट सुझाव–सल्लाह लिने जस्ता गतिविधिहरु तीब्र बनाएका छन् ।
मुख्यगरी नेकपा जिल्ला अध्यक्षको सम्भावित आकांक्षीहरुमा गाउँपालिकाका निर्वाचित अध्यक्ष देखि जिल्ला उपाध्यक्ष, सचिव लगायतका चार जना नेताहरु छन् । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी जनप्रतिनिधिहरुमध्ये सबैभन्दा बढी चर्चामा आएका नेता हुन् । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले एमाले जिल्ला कमिटि अध्यक्षको रुपमा आकांक्षी देखिएका छन् ।
गुट र उपगुटको राजनीति भन्दा नेता कार्यकर्ताहरुले रुचाएको र पार्टी सञ्चालन गर्न सक्ने व्यक्तिलाई जिल्ला कमिटि अध्यक्ष बनाउनु आवश्यक रहेको नेता धामीले प्रतिक्रिया दिनुभयो । नेता कार्यकर्ताहरुले रुचाएर जिम्मेवारी दिए आफू पनि जिल्ला अध्यक्षको बलियो आकांक्षी रहेको संकेत गरेका छन् । ‘अध्यक्ष जो भएपनि हाम्रै साथीहरुबाट हुन्छन्, नेता कार्यकर्ता र जनताले रुचाएको व्यक्ति हुनुपर्छ’ धामीले भन्नु भयो ।
त्यस्तै एमाले प्रदेश कमिटि सदस्य मोहन सिंह धामी पनि एमाले जिल्ला अध्यक्षको रुपमा आकांक्षी देखिएका छन् । आफू सर्वसम्मत् नेतृत्वको टुंगो लगाउनुपर्छ भन्ने पक्षमा रहेको र सर्वसम्मत् हुन सकेन भने आफ्नो पनि जिल्ला अध्यक्षका लागि उम्मेदवारी रहने बताएका छन् । ‘जिल्ला नेतृत्व सर्वसम्मत् रुपमै टुंग्याउनु पर्छ भन्ने पक्ष छु, यदि सर्वसम्मत् हुन सकेन भने मेरो पनि उम्मेदवार रहन्छ’ नेता धामीले भन्नु भयो । सबै जिल्ला प्रतिनिधिहरुसंग भेटघाँट र सल्लाह गरिरहेको बताउनु भयो ।
एमाले जिल्ला कमिटि सचिव ज्ञानेन्द्र घर्ती पनि जिल्ला अध्यक्षको आकांक्षी देखिएका छन् । अहिले सबै नेताहरुसंग सल्लाह तथा आन्तरिक छलफल गर्ने र सर्वसम्म्त रुपमै नेतृत्व चयन गर्ने प्रयासमा रहेको सचिव घर्तीको भनाई छ । ‘हामी सर्वसम्म्तमै नेतृत्व टुंग्याउने पक्षमा छौँ, आकांक्षा देखाउनु स्वभाविक हो, आकाक्षाका आधारहरुका आधारमा आउनु अझै उत्तम हुन्छ’ सचिवले घर्तीले भन्नु भयो । संस्थापक नेताहरुसंगै राजनीतिमा गएको र पार्टीको जिल्ला कमिटि सचिव भइसकेकाले कार्यकारी पदबाट कार्यकारी पद अध्यक्षको दाबेदार हुने उहाँको आशय छ । साथै आन्तरिक रुपमा सल्लाह भइरहेको र सबै आकांक्षीहरुसंग समेत बसेर निष्कर्ष निकालिने उहाँको धारणा छ ।
त्यस्तै जिल्ला कमिटि उपाध्यक्ष उदय बडाल पनि जिल्ला उपाध्यक्ष भइसकेकाले अबको पालो नै अध्यक्षको जिम्मेवारी हुने मनसाय व्यक्त गरिरहेको एमाले स्रोतको भनाई छ । ‘उपाध्यक्ष जी ले पनि अध्यक्ष पदका लागि आकांक्षा देखाइरहेका छन्, उपाध्यक्षको जिम्मेवारी सम्हालि सकेकाले अबको पालो नै अध्यक्ष हुने भन्ने मनसाय देखिन्छ’ उक्त स्रोतले भन्यो ।
त्यस्तेै वर्तमान जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीले भने गत कात्र्तिक ३ गतेको जिल्ला कमिटि सचिवालयको बैठकमा आफू अध्यक्षमा नदोहोरिने अभिव्यक्ति दिएको एमाले नेताहरुको भनाई छ । ‘जिल्ला कमिटि अध्यक्ष ज्युले यसअघि नै जिल्ला अध्यक्षमा नदोहोरिने घोषण गरिसक्नु भएको छ, बाँकी ४ जना आकाक्षी देखिएका छन्, सहमतिको प्रयास भइरहेको छ’ एक नेताले भन्नु भयो । जिल्ला कमिटि अध्यक्ष जोशीले जिल्ला अध्यक्षमा अन्यलाई पालो दिने र आफू प्रदेशतिर जाने मनसाय पोखेको ती नेताको भनाई छ ।
जिल्ला कमिटि अध्यक्ष जोशीले आफू पुनः जिल्ला अध्यक्षमै नदोहोरिने र अरुलाई पालो दिने अभिव्यक्तिको एमाले नेताहरुलाई प्रशंसा गरिरहेका छन् । मुख्यगरी युवा नेताहरुले पार्टी अध्यक्षले सोही पदमा नदोहोरिने घोषणाले सकरात्मक र असल राजनीतिको सन्देश जाने बताइरहेका छन् । राजनीतिमा पदको लोभ बढी हुने भएपनि जिल्ला अध्यक्षको उक्त अभिव्यक्तिले संस्कारी र असल राजनीतिको अभ्यासको सुरुवात गरेको नेताहरुले बताएका छन् । नया नेपाल