दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बुधवार जिल्ला प्रशासन, कारागार र सिमाक्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको मार्मा गाउँपालिकामा पालिका स्तरीय कमिटि गठन गर्न जिल्ला आइपुग्नु भएको मन्त्री जोशीले जिल्ला प्रशासन, कारागार र सिमा क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको हो ।
प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने कार्यक्रम रहेकाले जिल्ला कारागारको अवस्था लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताए ।
कारागारभित्र परेका सबै जना अपराधी नहुने तथा सधैँका लागि अपराधी नहुने बताउदै उनीहरुको आयआर्जनका लागि सीपमुलक कार्यक्रम अन्तरगत प्रदेश सरकारले कारागार दार्चुलाका लागि ४ लाख बजेट विनियोजन गरेको बताए ।
कारागारमा परेकाहरुले कारागार भित्रै विभिन्न सीपमुलक कार्य गर्न सकुन् भन्ने उद्देश्यले सीपमुलक कार्यक्रम अन्तरगत चार लाख बजेट विनियोजन गरिएको मन्त्री जोशीले बताए ।
साथै चालु आर्थिक वर्षका जिल्ला कारागारको मर्मतका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । आठ लाख रकम थोरै भएपनि उक्त रकम अत्यावश्यक क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । क्रमागत रुपमै भएपनि भौतिक सुधारका लागि पहल गर्ने आश्वासन दिदै नभए आगामी वर्षको कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी आर्थिक वर्षमा समेत जिल्ला कारागाका लागि अत्यावश्यक हो सो को जानकारी गराउन कारागार प्रमुखलाई निर्देशन गरेका छन् ।
साथै प्रदेश सरकार बीचको सरकार भएकाले विभिन्न कार्यहरु गर्ने रहर भएपनि कानुनी पाटो र क्षेत्राधिकारका कारण समस्या भएको औल्याए ।
जिल्ला कारागार प्रमुख बिरेन्द्र सिंह धामीले जिल्ला कारागार भित्र क्षमता भन्दा बढी कैदी तथा थुनुवा राख्नु पर्ने बाध्यता रहेकाले निकै समस्या भएको बताए ।
जिल्ला कारागारको क्षमता जम्मा ४० जना मात्रै रहेको भन्दै अहिले कैदी र थुनुवा गरी जम्मा ६९ जना रहेको जानकारी दिए ।
जिल्ला कारागारको क्षमता १५ जना महिला र २५ जना पुरुष गरी जम्मा ४० जनाको मात्रै क्षमता रहेको छ । कारागारमा दुई जना महिला र ६७ जना पुरुष रहेका छन् । एक जना नाबलक समेत आमा संगै कारागारभित्र रहेको प्रमुख धामीले जानकारी दिए ।
तर क्षमता भन्दा बढी कैदी तथा थुनुवाहरु राख्नुपर्ने बाध्यता सिर्जना भएकाले कैदी तथा थुनुवाहरुलाई समस्या भइरहेको मन्त्री जोशीलाई जानकारी गराए ।
भित्र शौचालयको तथा बास बस्न निकै कठिनाई हुदै आएकोमा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको पहलमा शौचालयको व्यवस्थापन गरि केही सहज भएको कारागार प्रमुख धामीले बताए ।
वि.सं. २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै बन्दी गृह मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको छ ।
मन्त्री जोशीले कार्यालय प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गरी जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण अनुगमन गर्नु भएको छ । साथै छन्ना कन्या तिंकरी माध्यामिक विद्यालय खलंगा र जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरि बुधबारैनै फर्किने कार्यक्रम रहेको छ ।

मन्त्री जोशीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बम, प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, कारागार प्रमुख बिरेन्द्र सिंह धामी लगायतको टोलीले निरिक्षण भ्रमण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय