धनगढी । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात गरेको पाइएको हो। उनले अवैध सम्पत्ति जोडेको भन्दै ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा मुद्दा दर्ता भएको छ। बिष्ट दम्पतीका नाममा काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कन्चनपुर, कास्कीलगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ।
कतिपय स्थानमा बिष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवैजनाको संयुक्त नाममा घरजग्गा रहेको अख्तियारले विषेश अदालतमा दायर गरेको आरोपपत्रमा लेखिएको छ।
अख्तियारले बिष्टले सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी बिष्टको नाममा पनि राखेकाले उनलाई पनि प्रतिवादी बनाएर जफत गर्न माग गरेको छ। खबरबोर्ड