अंकित कुँवर बैतडी, ३० पुष । आफ्ना कार्यकर्ताको हत्यामा संलग्नहरुको खोजी गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैतडीको सिल्लेगडामा प्रदर्शन गरेको छ । सुर्नया गाउँपालिका ६ का ३० बर्षीय डम्मर अवस्थीको हत्यामा अरुको पनि संलग्नता रहेको विप्लव माओवादीले दाबि गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव राम सिंह कुँवरको नेतृत्वमा करिब आधा घण्टा सडक समेत बन्द गरिएको थियो । माघ २ गते सम्म हत्यामा संलग्न लाई पक्राउ नगरे थप आन्दोलनका कार्यक्रम गर्ने विप्लवले जनाएको छ ।
मंसिर १४ गतेदेखि हराएका अवस्थीको शव गाडेको अवस्थामा जङ्गलको गुफामा फेला परेको थियो । हत्यामा संलग्न रहेका सोही ठाउँका हरिश अवस्थी प्रहरीको नियन्त्रणमा भएपनि घटनामा अरुको समेत संलग्नता रहेको भन्दै आफन्तहरुले शव बुझ्न मानेका छैनन् । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।