काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन्।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्। बानियाँले सभपातिसँग चुनाव कहिले हुन्छ भनेर सोधेका थिए। जवाफ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनाव जेठ ४ गते हुन्छ। केही दिनमै मिति घोषणा गर्छु।’

भेटमा सहभागी कांग्रेसका एक पूर्वकेन्द्रीय सदस्यले पनि प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए। ‘हामीले चुनाव कहिले हुन्छ भनेर सोध्यौँ। उहाँले जेठ ४ गते भन्नुभएको छ’, उनले भने।  सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजावादीले चुनाव अर्को वर्ष माघ फागुनमा गर्नुपर्ने धारणा राखे पनि कांग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठ मै चुनाव गर्ने निष्कर्षमा पुगेको हो।

आउँदो जेठ ४ गते चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो।

ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई औपचारिक रुपमा सुझाव दिएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले चाँडो स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ। उसले गठबन्धनले चुनाव नगर्ने तयारीमा लागेको आरोप लगाउँदै छिटो चुनावको मिति तय गर्न भनेको छ।

एमाले सचिव पद्यमा अर्यालले वैशाखमै चुनाव हुनुपर्ने बताइन्। सोमबार पार्टी कार्यालयमा अर्यालले भनिन्, ‘विगतदेखि हामीले भनिआएका छौँ, स्थानीय निर्वाचन वैशाखभित्र सक्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्नेमा एमाले छ।’

राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ६ गते नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी चुनाव गर्न लिखित रुपमै दबाब दिएकी छिन्।

नेकपा एकीकृत समाजवादीका नेताका समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सोमबारको मन्त्रिपरिषदको बैठकमा चुनावबारे कुनै छलफल नभएको बताए। बिहीबार बस्ने बैठकमा चुनावबारे निर्णय हुन सक्ने उनको भनाइ छ।

‘हिजोको बैठकमा चुनावबारे केही भएन। निर्वाचन आयोगले नयाँ मिति दिएको छैन। प्रधानमन्त्री, नेताहरु छलफलमै हुनुहुन्छ संभवत बिहीबारको बैठकमा निर्णय लिन सक्छ, खतिवडाले भने। देश सञ्चार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय