दार्चुला । नेपाल भारत जोड्ने दत्तु स्थित झोलुङगे पुल घाट नाकामा हेल्थडेक्स स्थापना गरिएको छ । जिल्लाको महाकाली नगरपालिका र सुआहारा कार्यक्रमले जिल्लामा कोरोना भाइरस भित्रिन नदिन भारत संग सिमा जोडिएको वडा नम्बर ९ को दत्तु पुलमा मंगलबार हेल्थडेस्क स्थापना गरेको हो ।
कोरोनाको संक्रमण दत्तु नाका भएर भित्रिन नदिन नेपालको दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुंगे पुलमा हेल्थडेस्क स्थापना गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए । सुआहारा र महाकाली नगरपालिकाले एक एक जना स्वास्थ्यकर्मी पुलघाट नाकामा एन्टिजेन परिक्षणको लागि राखेको छ । कोभिड १९ को पहिलो लहर सुरु भएसँगै संचालनमा आएको दत्तु पुलघाट नाकाको हेल्थ डेक्स विचमा विभिन्न समस्याका कारण बन्द रहेको संयोजक महराले वताए । अव नियमिति रुपमा पुल खुल्ने समय विहान देखी बेलुका सम्म हेल्थडेक्स संचालन हुने भएको छ ।
भारतका विभिन्न सहर तथा अन्य मुलुकबाट दत्तुको नाका भएर नेपाल भित्रिने सबै जसो मानिसमा हेल्थडेस्कमा कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी लिई डाटा संकलन गर्ने कार्य गरिने भएको छ । हेल्थडेस्कको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्की, नगर उपप्रमुख सुना बोहरा, सुआहारा कार्यक्रमका संयोजक बिर बोहरा र वडा नम्बर ९ का वडा अध्यक्ष हरसिंह डागाको उपस्थितिमा स्थापना गरिएको हो ।
पुल छेउमा रहेको नेपाल प्रहरीको ड्युटी पोष्ट नजिकै हेल्थडेस्क स्थापना गरिएको छ । हेल्थडेस्कमा कोरोना भाइरस संक्रमण पश्चात मानिसमा देखिने लक्षण तथा संक्रमणबाट बच्ने उपाय सहितको होडिङबोर्ड राखिएको छ । दत्तु नाका भएर नेपाल भित्रिने संकास्पद व्यक्तीलाई डेस्कमा राखेर परामर्श दिइने संयोजक धामीले वताए ।
दत्तु नाकाबाट कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी राखेर हेल्थडेस्क स्थापना गरिएको उनले बताए । कोरोना भाईरसबाट संक्रमित भएमा ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन उनले बताए ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक सँग परामर्श लिने, जंगली तथा घरेलु पशुपक्षीहरू सँग असुरक्षित सम्पर्कबाट टाढा रहन र पशुजन्य मासु र अन्डा राम्रो सँग पाकेको मात्र खान उनले सुझाव दिनु भएको छ ।