काठमाडौं ९ फगुन । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल दोहोरो चरित्र भएको आरोप लगाएका छन् ।
सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को सन्दर्भमा अध्यक्ष प्रचण्ड र नेपाल कुर्सीमा पनि बस्ने र सडकमा प्रदर्शन गर्न पनि लगाउने भन्दै दुवै दोहोरो चरित्र भएको ओलीले आरोप लगाए ।
अध्यक्ष ओलीले भने ‘एमसीसी पास गर्न षड्यन्त्र गर्ने, टेबल गर्न षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’
गबठन्धनमा एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै ओलीले दुवैको कडा आलोचना गरे । आफैं सदन र आफैं सडकमा उत्रिएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको आरोप पनि उनको आरोप छ । आइतबार प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगा हानिएपछि गृहमन्त्रीलाई फोन गरेर त्यसबारे साुधपुछ गरेका पनि ओलीले बताएका छन् । उनका अनुसार प्रदर्शनकारीलाई सबैथोक गर्न छुट तर, प्रहरीलाई केही गर्न छुट थिएन भनेर गृहमन्त्रीलाई प्रश्न सोधेका थिए ।
‘ढुंगा हानेका छन्, इट्टा हानेका छन् । तोडफोड गरेका छन् । नगर भन्ने कोही छैन । प्रहरी छ, कुटाइ खाएर भागेको छ । टिभी खोले हेर्नुस्, २५ जनाले ढुंगा टिपेर हानेका छन्, डेढ सय पुलिस ढाल छलेर पछि पछि सर्दै भागेको छ । लाठी चार्ज गर्ने नि अधिकार छैन । हात भाच्चिसक्यो, खुट्टा भाच्चिसक्यो, टाउँको फुटिसक्यो के गर्ने ? अनि भाग्नुपरेन ? एकथरीले के पनि नगर्नु भनेर प्रहरी सडकमा पठाउँछ । भत्काउछन्, भत्काउन देऊ, ढुंगा हान्छन्, हान्न देऊ,’ उनले भने, ‘मैले गृहमन्त्रीलाई सोधे– काँचो ढुंगामात्र हान्ने आदेश थियो, इट्टामात्र हान्ने आदेश थियो कि के आदेश थियो ?’