राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष एकल (उच्च १६ वरियता प्राप्त) मा विश्व वरियतामा प्रिन्सले नेपाली सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स १०औं संस्करणका विजेता समेत हुन् ।
लगातार दोस्रो पटक उपाधि जित्दा प्रिन्सले खुशी व्यक्त गर्दै उपाधि रक्षा गर्नु सहज काम नभएको बताए । ‘एकदमै खुशी छु । निरन्तरता दिन सक्नु चानचुने कुरा होइन । अझै राम्रो गर्नुपर्ने छ । यतिले मात्र हुँदैन’ प्रिन्सले जितेपछि अनलाइनखबरसंग भने, ‘लय कायम राख्न गाह्रो हुन्छ । प्रशिक्षण पनि निरन्तर हुँदैन । प्रतियोगिता हुनु ठूलो कुरा हो । यसले नै खेलाडीलाई अनुभव हुन्छ ।’
प्रिन्स दाहालले सेमिफाइनलमा राष्ट्रिय च्याम्पियन एपीएफका दीपेश धामी माथि १४–२१, २१–१४, २१–१७ ले जित निकालेका थिए । यस्तै नविनले फाइनल प्रवेश गर्नेक्रममा सेनाकै प्रफुल महर्जनमाथि १४–२१, २१–१७, २१–१६ ले जित निकालेका थिए ।
बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।
यस्तै नेपाली सेनाकै अनुमाया राईले महिलातर्फ उपाधि जितिन् । राईले शीर्ष १२ वरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।
पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोस्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिइन् । अनुमायाले नगद ५० हजार र उपबिजेता रशिलाले नगद २८ हजार रुपैयाँ प्राप्त गरिन् । महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्शल देवी तामाङ र अमिता गिरीले नगद १२ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्शल देवी तामाङ र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगलतर्फ एपीएफका दीपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे ।
उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपजेताले नगद १० हजार र तेस्रोले नगद ५ हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे । पुरुषको उच्च १६ वरियतादेखि बाहेककोमा कास्कीका विधान अधिकारीले बाजी मार्दै उपाधि उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे । अनलाइन खबर