काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् । खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् ।

त्यसक्रममा बिहीबार मात्रै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग दुई चरणमा छलफल गरिसकेका छन् ।ती छलफलमा एमसीसी पास गर्ने शर्तमा एमालेले अघि सारेका माग पूरा गर्न देउवा तयार भएको बताइएको छ । यद्यपि प्रक्रियाका बारेमा ठोस सहमति जुटिनसकेको दुबैतर्फका नेताहरुको भनाइ छ । एमसीसी पास गर्ने शर्तमा एमाले र काँग्रेसबीच सहकार्य भएमा त्यसको पहिलो असर गठबन्धनमा पर्ने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पास नगर्ने बरु सत्ता छोड्न तयार हुने मनस्थिति बनाइसकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो सरकार बचाउँन एमालेको साथसहितका विभिन्न विकल्प खोज्नेछन् ।

त्यसक्रममा देउवाले यसअघि एमालेले कारवाही गरेका माधव नेपालसहितका नेतामाथिको कारवाहीको विषयलाई साथ दिनुपर्ने अवस्था आउन सक्छ । तर, देउवा माधव नेपालको राजनीतिक भविष्य नै दाउमा पर्ने गरी निर्णय गर्छन् या गर्दैन्, त्यो भने उनले आगामी दिनमा लिने कदमबाट मात्रै टुंगो लाग्ने देखिन्छ । यद्यपि माओवादी केन्द्रले शुक्रबार मात्रै गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय