काठमाडौँ साउन ३१ । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्र परिवर्तन गर्नका लागि कोरोना भाइरसको संक्रमणले अवसर ल्याएको बताएका छन् । कान्तिपुर इकोनोमिक समिट– २०२१ को तेस्रो सत्र ’संकटले सुझाएको बाटो’ विषयमा बोल्दै उनले कोरोनाका कारण हजारौंको मृत्यु भएको हुँदा त्यसले गर्दा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको अवसर ल्याएको र यो मौका नछोपे अपराध हुने बताएका छन् । ’संकटको बेलामा अवसर आउँछ भन्छन्, अहिले धेरैको दुःखद् मृत्युले अवसर जुटाइदिएको छ,’ थापाले भने, ’यत्रो धेरै साथीहरूको मृत्युले अवसर दुःखद् रुपमा प्राप्त भएको छ । यो अवसर छोपेनौं भने दोहोरो अपराध हुन्छ । एउटा मान्छे मारेको अपराध हुन्छ भने अर्को मारेपछि पनि नचेतेको अपराध हुन्छ ।’
अस्पतालहरूमा अक्सिजन प्लान्ट हुनुपर्ने अनिवर्यता भएपनि विगतमा त्यसको स्थापना गर्न नसक्दा कतिपय बिरामीको मृत्यु भएको थापाले बताए । त्यसको दोषी नेतृत्वमा रहेका सबै भएको उनको भनाइ थियो । सार्वजनिक नीति बनाउनेहरूले संकटबाट सिक्नुपर्ने र त्यसलाई दिगो बनाउने काममा लाग्नुपर्ने थापाले बताए । विकल्पको प्रयोग संकटका बेला नै ल्याउनुपर्ने भन्दै थापाले स्वास्थ्य क्षेत्रमा मानवस्रोत विकासको लागि सरकारले काम गर्नुपर्ने धारणा राखे । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा राम्रो परिवर्तन भएपनि पर्याप्त नभएको थापाको भनाइ थियो ।
’स्वास्थ्य क्षेत्रको सन्दर्भमा २०४६ सालको परिवर्तन पछाडि अभूतपूर्व कामहरू भएका छन् । उपलब्धि भएका छन् । त्यसलाई नजरअन्दाज गर्नु हुँदैन,’ उनले थपे, ’योभन्दा धेरै राम्रो हुन सक्थ्यो । पछिल्लो १०,१५ वर्षमा हाम्रो स्वास्थ्य क्षेत्र कस्तो हो ? निशुल्क केही पनि हुँदैन तर पैसा कसले तिर्ने हो ? कसरी तिर्ने हो ? भन्ने नीतिगत केही अस्पष्टता हुँदै गर्दा हामीले अवसर गुमायौं । त्यसलाई सुधार गर्ने धेरै ठूलो मौका अहिलेको कोभिड क्राइसिसले दिएको छ ।’ अहिले स्वास्थ्य क्षेत्रमा लगानी पनि बढेको र प्राथमिकतामा पनि रहेको भन्दै थापाले राजनीतिक नेतृत्वले यस क्षेत्रमा काम गर्नुपर्ने बताए । नेपालमा पुस्तकमा संकटका बेला अवसर आउँछ भन्ने तर कामका क्रममा भने पुरानै ढर्रामा गर्ने भएकाले पनि परिवर्तन हुन नसकेको थापाको बुझाइ छ ।
शिक्षा र स्वास्थ्यमा परिवर्तन गर्दा सामाजिक क्षेत्र परिवर्तन हुने उनको भनाइ छ । त्यसरी परिवर्तन गर्नका लागि राजननीतिक प्रतिबद्धता आवश्यक पर्ने तर त्यो पक्ष कमजोर रहेको उनले बताए । राजनीतिक दलहरूभित्र स्वास्थ्य, शिक्षाका सार्वनजिक क्षेत्रमा कस्ती नीति तय गर्ने भन्नेबारे छलफल नै नहुने गरेको उनको स्वीकारोक्ति थियो । ’सार्वजनिक नीति कस्तो बनाउने, किन बनाउने भन्नेबारे छलफल नै हुँदैन । दल एकातिर रहेछ र सरकार चलाउनुपर्ने अर्कैतिर रहेको छ,’ उनको भनाइ थियो । साभार कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय