
दार्चुला । नेपाल राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर परिसरमा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरु अनन्त श्री बिभुषित बाल सन्त मोहन शरण देवाचार्यले प्रवचन दिनु भएको छ । मालिकार्जुन क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा ईस्वर भगवान के हुन्, भगवान के हुन भन्ने विषयमा प्रवचन गर्नु भएको जगत गुरुका प्रवक्ता एवं नेपाली कांग्रेस दार्चुलाका नेता विक्रम सिंह धामीले जानकारी दिनुभयो । जगत गुरु बाल सन्त श्री मोहन शरण देवाचार्यले यस अघि नै मालिकार्जुनमा ज्योर्तिलिङ्गको स्थापना गर्नु भएको थियो । शिवका १२ ज्योर्तिलिङ्ग मध्ये एक ज्योर्तिलिङ्ग मालिकार्जुनमा रहेका भन्दै उहाले ज्योर्तिलिङ्ग स्थापना गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । जगत गुरु दार्चुलामा यस वर्ष तेस्रो पटक आउनु भएको हो । सुदुरपश्चिमका देवस्थलहरुमा आफ्ना बृद्ध मातापितालाई दर्शन गराउने क्रममा जगत गुरु राष्ट्रकै सातौ धाम तथा दार्चुलाको मालिकार्जुन मन्दिर पुग्नु भएको अध्यक्ष धामीले जानकारी दिनुभयो । जगत गुरुले करिव २÷४ सय श्रद्धालु भक्तालुहरुको उपस्थितिमा परम ब्रहम जितका बारेमा पुर्विय दर्शनमा आधारित प्रवचन गर्नु भएको प्रवक्ता धामीले बताउनुभयो । जगत गुरुकै पहलमा मालिकार्जुन धामका बारेमा टेलिभिजनमा समेत कार्यक्रम प्रसारण हुने गरेको बताइएको छ । जगत गुरु देवाचार्यले आज मालिकार्जुन मन्दिर परिसरमा प्रवचन दिनु भएको छ, भने भोली महाशिवरात्रीका दिन शैल्यशिखर नगरपालिकाले आयोजना गरेको शिवरात्री मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रवचनमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्ट, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो । यसैबिच शिवरात्रीका अवसरमा दार्चुलाका तिर्थ स्थल तथा देवस्थलहरु सिगारिएका छन् । तिर्थालु तथा बर्तालु भक्तजनहरुका लागी तिर्थ स्थल र मन्दिर परिसरमा सरसफाई तथा रंगरोगन गरिएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमानामा रहेको तातो पानी तिर्थ स्थलमा सरसफाई गरिएको छ, भने जिल्ला सदरमुकाम खलंगामा रहेको मालिकार्जुन मन्दिर परिसरमा सरसफाई गरिनुका साथै रंगरोगन गरिएको छ । शिव भगवान पराकाट्य अर्थात पृथ्बीमा अबतरण गरेको दिनमा शिवरात्री मेला लाग्ने गर्दछ ।