झापा । योजनाबिनै निर्माण भएका भौतिक संरचनाका कारण नेपालका अधिकांश सहर अव्यवस्थित छन् । सरकारले अव्यवस्थित सहरलाई आधुनिक र व्यवस्थित बनाउने नीति लिएको छ । दीर्घकालीन योजनामार्फत निर्माण हुने भौतिक पूर्वाधारले मात्र आधुनिक सहरको परिकल्पना गर्न सकिन्छ । यही उद्देश्यलाई पछ्याउँदै अघि बढेको झापाको अर्जुनधारा नगरपालिकाले पूर्वाधारमा लगानी बढाएर सफलता हासिल गर्दै गएको छ ।
स्थानीय तह पुनर्संरचनापछि अर्जुनधारा नगरपालिकाले पूर्वाधार विकासमा फड्को मारेको यहाँ निर्मित संरचनाबाटै प्रस्ट देखिन्छ । नगरपालिकामा ग्राभेल नभएका सडक भेटिँदैनन् । जनप्रतिनिधिले पहिलो चरणमा सडक ग्राभेल गर्ने नीति लिएर काम गर्दा अहिले नगरको प्रत्येक वडामा कम्तीमा ५ सय मिटर र बढीमा १ किलोमिटर सडक कालोपत्रे भइसकेका छन् । अहिले ११ वटा वडामा धमाधम सडक निर्माण भइरहेको वडा नम्बर ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले बताए ।
नगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा ३ किलोमिटर र ०७५÷७६ मा २ दशमलव ७ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा ४ किलोमिटर सडक कालोपत्रे हुँदा ०७७÷७८ मा ११ दशमलव ८२ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसबाहेक २०७ किलोमिटर सडक ग्राभेल भएको छ भने २१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको वडा नम्बर १ वडाध्यक्ष गजाधर खतिवडाको भनाइ छ ।
११३ वटा मोटरेबल र ४ वटा झोलुंगे पुल निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ५४ वटा पुल बनाएको नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा २७ र आर्थिक वर्ष ०७६÷७७ मा १७ वटा पुल निर्माण गरेको छ । ०७७÷७८ मा नगरले १५ वटा थप मोटरेबल पुल बनाएको वडा नम्बर ३ का वडाध्यक्ष जीवनकुमार भण्डारीको भनाइ छ ।
पुल मात्र नभई कल्भर्ट निर्माणमा पनि नगरपालिकाले जोड दिएको छ । नगरपालिकाभित्र १ सय २५ वटा कल्भर्ट निर्माण भएको नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत हिमराज सेढाईंले बताए ।
जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नगरपालिकामा वडा कार्यालयको भवन थिएनन् । अहिले ११ वटै वडा कार्यालयका भवन तयार भएका छन् । स्वास्थ्य संस्थाका भवन र सामुदायिक भवन निर्माणमा पनि नगरले जोड दिएको छ । पूर्वाधार विकासमा सहजीकरण गर्न वडा–वडामा पूर्वाधार विकास समिति गठन गरिएको वडा नम्बर २ का वडाध्यक्ष रघुनाथ खनालले सुनाए ।
नगरपालिकाले सडकसँगै प्रशासनिक भवन निर्माणलाई पनि तीव्रता दियो । ०७४ अघि थालिएको नगरपालिका भवन निर्माणको काम जनप्रतिनिधि आएपछि अघि बढ्यो । त्यसको प्रतिफल नगरपालिकाले ०७५ देखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिएको अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताए । साभारः पालिका खबर
