दार्चुला । महाकाली नगरपालिका–९ दत्तुस्थित एक विद्यालयका किशोरीलाई ढुसी लागेको आइरन चक्की वितरण गरेको पाइएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीलाई ढुसी लागेको आइरन चक्की वितरण गरेको पाइएको हो ।
दत्तु स्वास्थ्य चौकीले आइतबार किशोरीहरुलाई आइरन चक्की वितरण गरेको थियो । केही आइरन चक्कीमा ढुसी लागेको थियो ।
किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्ण रुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्य सम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् ।
यही समस्या न्यूनिकरणका लागि वितरण गरिएको आइरन चक्किमा ढुसी देखिएपछि स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रोस पोखेका छन् । ढुसी लागेको आइरन चक्की स्वास्थ्य चौकीमै फिर्ता गर्न आग्रह गरिएको दत्तु स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक जयबहादुर फर्सवानले बताए ।
‘केही किशोरीलाई वितरण गरिएको आइरन चक्कीमा ढुसी लागेको गुनासो आएपछि फिर्ता गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘राम्रै ठाउँमा स्टोर गरेका थियौं । कसरी ढुसी लाग्यो हामीलाई पनि थाहा भएन्, अब राम्रो आइरन चक्की वितरण गर्छौ ।’ भोजराज जोशीको फेसबुकबाट
