जिल्लाका सम्पूर्ण विद्यालयमा खोप केन्द्र
प्रकाश चन्द्र भट्ट । दार्चुला : दार्चुलामा प्रमुख जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यहि चैत २५ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रमअन्तर्गत जिल्लाका ३६ हजार ९ सय ४० बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने उनको भनाइ छ । यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ । प्रमुख भट्टका अनुसार खोप अभियानका लागि १ सय ४३ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने छ । अभियानको माध्यमबाट १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने र त्यसपछि नियमित खोपमा यो खोप समावेश गरी १५ महिनाको उमेरमा १ मात्रा खोप निरन्तर उपलब्ध गराउने लक्ष्य राखिएको छ । दार्चुलामा ५ दिनको अभियान संचालन गरेर खोप दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । ४ सय २१ ओटा खोप केन्द्र कायम गरिएकोमा ८० प्रतिशत केन्द्र विद्यालयमा रहेका छन् ।
